जिल्ला प्रहरी कार्यालय सिरहा तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ।
ड्युटीमा खटिएका प्रहरी कर्मचारीले मदिरा पसलबाट भोड्का लिएर गएको खुलेपछि सोमबारबाट लागू हुने गरी तीन जना प्रहरीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
निलम्बनमा पर्नेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय छन्।
कार्यालयले उनीहरूलाई प्रहरी नियमावली २०७१ अन्तर्गत निलम्बन गरेको हो।
असई ठाकुरसहितको टोली जेठ ९ गते आइतबार राति १० बजे लहान नगरपालिका-२३ गढिया चोकमा खटिएको थियो। निषेधाज्ञाको कार्यान्वयन गराउन खटिएको उक्त टोलीले आसपासका पसल बन्द गराएको थियो।
त्यसै क्रममा सोही स्थानमा रहेको पुजा मदिरा होटल (एस.के मदिरा)मा केही व्यक्तिहरू होहल्ला गरिरहेका थिए।
प्रहरीले होहल्ला गर्नेहरूलाई नियन्त्रणमा लिएको थियो। त्यही बेला पसलका सञ्चालक भने फरार भएका थिए।भिडिओ सेयर भएपछि प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थियो। अहिले उनीहरूलाई निलम्बन गरेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
सञ्चालक भागेपछि पसलमा कोही नभएको मौका छोपेर असई ठाकुरलगायतले पसलबाट केही भोड्का रक्सी लिएर गएका थिए। प्रहरीहरूले रक्सी लिइरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर भएको थियो।
