रौतहट — केही दिनअघि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सुरक्षा अधिकारीको टोलीसहित गढीमाई नगरपालिका १ समनपुरस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको निरीक्षणमा पुगे ।
उनलाई गाउँलेले रोकेर ठेकेदारले हदैसम्म हेपेर काम गर्न थालेकाले अब कडाइ गर्न अनुरोध गरे । पुल निर्माण सुरु भएको ८ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि गाउँलेको गुनासो स्वाभाविक थियो ।
प्रजिअ यादव त्यसै दिन दुर्गाभगवती गाउँपालिका ५ स्थित वाग्मती नदीमा बन्दै गरेको अर्को पुल हेर्न पुगे । समनपुर–सर्लाही जोड्ने पुलको २०६९ असार २६ गते एलाइट कन्स्ट्रक्सनले ३६ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । भ्याटसहित ३२ करोड ७३ लाख ९२ हजारमा ठेकेदार सुरेन्द्र पौडेलले टेन्डर सकारेका हुन् ।
तर, ८ वर्ष बित्दा पनि पुलको काम सकिएको छैन । पुल महाशाखाको पूर्वी सेक्टरले निर्माणको काम हेरिरहेको छ । झन्डै ६ सय मिटर लामो डबल लेन्थ, पायल फाउन्डेसनसहित पुलको काम बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ ।
ठेकेदारले विभिन्न बहाना बनाएर काम ढिला गर्न थालेपछि महाशाखाले अन्तिम पटक यही साउन मसान्तभित्र काम सक्न म्याद थपेको छ । पुल महाशाखा पूर्वी सेक्टर योजना प्रमुख कैलाश देवले निर्माण अन्तिम चरणमा पुगेको र अब खुद्रा काम मात्र बाँकी रहेको दाबी गरे ।
‘ठेकेदारको पनि लापरबाही देखिएकै हो,’ उनले भने, ‘ढिलै भए पनि अब यसै आर्थिक वर्षमा पुल सञ्चालनमा आउँछ । कोभिडको महामारीले गर्दा सम्पन्न हुन समय लागेको हो ।’
निर्माणको केही समयमा स्पान बगाएपछि ठेकेदारले काम बन्द गरेको थियो । पुल सञ्चालनमा आयो भने रौतहटबाट सर्लाहीको बरहथवा, हजरिया र सदरमुकाम मंलगवा जान सहज हुन्छ । सर्लाहीका व्यक्तिलाई रौतहटको समनपुर, गरुडा र गौर बजार आउन जान सहज हुन्छ ।
व्यापारिक हिसाबले समनपुर र दुर्गाभगवतीको बडहर्वास्थित वाग्मती पुल निकै महत्त्वपूर्ण छ । समनपुरका स्थानीय रामप्रवेश यादवले मानिस हिँड्न नपाए पनि पुल हेरेर चित्त बुझाउँदै आएको बताए । ‘नाम मात्रको पुल भएको छ,’ उनले भने, ‘हिँडडुल गर्न पाए पो पुलको महत्त्व हुन्छ ।’
यस्तै सलार्ही रौतहट जोड्ने दुर्गा भगवती गाउँपालिका ५ स्थित बडहर्वा नजिक वाग्मती नदीको पुल पनि अधुरो छ । हुलाकी सड्क आयोजना योजनाअन्तर्गत दुवै जिल्लालाई जोड्न निर्माणाधीन पुल ठेकेदारले बीचमै बन्द गरे पछि ७ वर्षदेखि अलपत्र परेको हो । तराईका जिल्ला सदरमुकामलाई जोड्ने महत्त्वाकांक्षी सडक परियोजनाअन्तर्गत निर्माण हुँदै गरेको पुलको अब नयाँ ठेक्का लगाउने तयारी भइरहेको हुलाकी सड्क आयोजना योजनाले जनायो । यही पुलको निरीक्षण गर्न गएका प्रजिअ यादवलाई स्थानीयले निकै गुनासो पोखे ।
लामो समयसम्म पुल नबन्दा त्यस भेगका स्थानीय सर्लाही जान डुंगाको भर पर्नुपर्छ । यही पीडाले स्थानीय आक्रोशित छन् । निरीक्षणमा आएका हुलाकी सडक आयोजना योजना पर्साका प्रमुख डीई दरोगाप्रसादले नयाँ टेन्डर र नयाँ ठेकेदारले काम थाल्ने भन्दै स्थानीयलाई आश्वस्त पारे ।
समयमा साइट उपलब्ध गराउन नसकेकाले समयमा काम सक्न नसकेको निर्माण कम्पनी लुम्बिनी बिल्डर्स प्रालिले सिद्धार्थनगरको आरोप छ । उसले ३५ करोड ८९ लाख रुपैयाँमा ठेक्का सकार गरेको थियो । लुम्बिनीले सडक विभागसँग २०६७ जेठ ३१ गते सम्झौता गर्दै २०७० जेठ ३० गते पुलको काम सक्ने म्याद पाएको थियो ।
पुलको लम्बाइ ६३३ मिटर र चौडाइ डबल लेन्थको छ । पुलमा १७ स्पानसहितको सम्झौता भएको थियो । अहिले १७ वटैको पिलरको काम सकिएको छ । आयोजनाका अनुसार अहिलेसम्म ६० प्रतिशत हाराहारीमा काम सकिएको छ ।
अब बाँकीको काम नयाँ ठेक्कामार्फत हुने डीई दरोगाले बताए । २०७० सालदेखि निर्माण बन्द गरेको ठेकेदारले एकतर्फी रूपमा ठेक्का रद्द गरेर बसेको छ । निर्माणकै क्रममा नदीले धार परिवर्तन गरेपछि काम बन्द भएको थियो । साविकको स्थानभन्दा पूर्वबाट खोला बग्न थालेपछि निर्माणको काम तत्कालै रोकियो ।
त्यसपछि ठेकेदारले डिजाइन गलत भएको भन्दै एकतर्फी रूपमा ठेक्का रद्द गरेको पत्र पठायो ।
हुलाकी सडक निर्देशनालय काठमाडौंले पुल निर्माण गरिएको भन्दा ८ सय मिटर पूर्वबाट खोला बग्न थाले पछि काम रोकिएको जनायो । पुलको पिलरको काम सकिएको छ । अब सुपर स्टक्चरको काम बाँकी रहेको प्रमुख दरोगाले सुनाए । निर्देशनालयले काम सुरु गर्न निर्माण कम्पनीलाई पटकपटक पत्राचार गरेको थियो ।
ठेकेदार, हुलाकी सडक निर्देशनालय र पुल महाशाखाका प्रतिनिधिबीच पटकपटक छलफलसमेत भए । निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका ठेकेदार लंक केसीले पुल निर्माण गर्ने समय सकिएकाले आफ्नो पक्षबाट ठेक्का तोडेको दाबी गर्दै आएका छन् ।
समयमा पुल बनेको भए रौतहट र सर्लाहीका मानिसलाई आवतजावत गर्न सहज हुन्थ्यो । अहिले दुवै जिल्लाका मानिस डुंगा चढेर वारपार गर्छन् । वारि बतसपुर, बडहर्वा, राजदेवीलगायत स्थानीय डुंगा चढेर पारि खेतमा काम गर्न जान्छन् ।
वाग्मती नदीले कटानमा पारे पछि जिल्लाको केही गाउँ पारि सर्लाहीमा परेको छ । अहिले डुंगाको सहायताले मानिसहरू वारपार गर्छन् । वर्षाका बेला आवतजावत ठप्प हुन्छ ।
