कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनाभाइरस निकै बलियो रहेको बताएका छन्। उनले आफू संक्रमित भएपछि भोग्नु परेको कठिनाइ र कोरोनामुक्त भएकोबारे मंगलबार फेसबुकमार्फत् जानकारी गराएका हुन्।
उनले आफ्नो अनुभव रोचक शैलीमा लेखेका छन्। वैशाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण भएको केहीदिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
‘म पहिलो पटक ८ दिन, फेरि दोस्रोपल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्।
उनले आफूलाई माया, शुभेक्षा र आशिर्वाद दिने तथा स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने सबैमा कृतज्ञता व्यक्त गरेका छन्। सोही आशिर्वाद आफूलाई लागेको श्रेष्ठले बताए।
उनले अमृतमय मायाको बलले कोरोनारूपी विषलाई मज्जाले पचाएको बताएका छन्।
‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेलाबेलामा तर्सायो पनि। बलियोचाहिँ निक्कै बलियो रहेछ बजिया.. श्रेष्ठले लेखेका छन्,’ तर सबैको माया, शुभेक्षा, प्रार्थना र आशिर्वादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन। पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठ् बस गरेर ह्वाँ. ह्वाँ.. रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो।’
उनीसहित परिवारले सोमबार पिसिआर परीक्षण गराएका थिए। सबैको नेगेटिभ आए पनि उनको भने पोजिटिभ आएको थियो।
जसकारण शरिर अलिअलि शिथिल भएको र कम हुँदै गएको बताए।
