एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन कार्लाे एन्सेलोटीलाई आफ्नो क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
जिनेदिन जिदानले प्रशिक्षकबाट राजीनामा दिएपछि रिक्त रहेको रियलको मुख्य प्रशिक्षकको पदको लागि थुप्रै प्रशिक्षकको नाम चर्चामा रहेपनि रियलले आफ्नो पुर्व प्रशिक्षक तथा इंग्लिस क्लब एभर्टनका एन्सेलोटीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । रियल र एन्सेलोटीबीच ३ वर्षको सम्झौता भएको छ । जस अनुसार उनी २०२४ सम्म रियलमा हुनेछ । नको सम्झौता मंगलबारबाट नै लागु भएको छ ।
मासिमिलियानो एलेग्रीको नाम चर्चामा रहेपनि उनी इटालियन क्लब युभेन्टसको प्रशिक्षक बनिसकेका छन् । रियलको प्रशिक्षक बन्ने पङ्तिमा इन्टर मिलानबाट राजीनामा दिएका एन्टेनियो कोन्टे, पीएसजीका मौरिसियो पोचेटिनो, रियलकै ‘बी’ टिमका राहुल गोन्जालेज ब्लान्को र रियस सोसिडाडका ‘बी’ टिमका तथा रियलकै पुर्व मिडफिल्डर जाभी अलन्सो रहेका थिए ।
एन्सेलोटीले २०१५ मा रियल छाडेका थिए । उनी २०१३ मा पीएसजीबाट रियल पुगेका थिए । दुई वर्षको म्याड्रिड बसाईमा उनले रियलबाट २०१४ मा च्याम्पियन्स लिग, कोपा डेल रे, सुपर कोपा र फिफा क्लब विश्वकप जितेका छन् ।
इटालियन क्लब एसी मिलानका पुर्व खेलाडी तथा प्रशिक्षक रहेका ६१ वर्षीय एन्सेलोटीले रेगजियाना, पर्मा, युभेन्टस, चेल्सी, पीएसजी, बायर्न म्युनिख र नेपोलीलाई प्रशिक्षण दिइसकेका छन् ।
