काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले हालै सरकारले बजेटमार्फत सार्वजनिक गरेको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नीतिको चर्को विरोध गरेका छन् ।
बुधबार सामानिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले लोकतन्त्र र नैतिकता बेचिसकेको सरकारले प्रकृति बेच्न तम्सिएको बताएका हुन् । ‘लोकतन्त्र, मूल्य मान्यता, नैतिकता सबै बेचिसकेको सरकारले अब बेच्न बाँकी प्रकृति थियो । सरकार त्यो पनि बेच्न तम्सिरहेको छ’, पौडेलले भनेका छन् ।
सरकरारले चुरे संरक्षणका लागि विभिन्न नीति तथा कार्यक्रम तर्जुमा गरेको तथ्य प्रस्तुत गर्दै उनले भनेका छन्, ‘चुरे क्षत्रको संरक्षण गर्न र प्राकितिक जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले २०६६/६७ देखि पहिलो प्राथमिकतामा राखी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरिसकेको छ ।
त्यस्तै विकास समिति ऐन, २०१३ अन्तर्गत रहेर राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति (२०७१)गठन गरी वातावरण संरक्षण ऐन २०५३, बमोजिम नेपालको ३६ जिल्लाको चुरे अन्तर्गतको भू-भागलाई वातावरण संरक्षण क्षेत्र घोषणा पनि गरेको छ । चुरे संरक्षण क्षेत्रमा विकास निर्माण गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि तथा मापदण्ड, २०७७ भनेर नियामावली नै बनिसकेको छ ।’
‘यतिका धेरै कडाई गर्दा पनि अझै प्राकृतिक दोहन रोकिएको छैन । अव्यवस्थित बसोबास, अतिक्रमण, वन विनाश, अवैज्ञानिक भू–उपयोग आदिले चुरे क्षेत्र सधैं उच्च जोखिममा छ । नदी कटान, भू-क्षय, बाढी, पहिरो जस्ता प्रकोपले बर्सेनि आम नागरिकको जीवनमा समस्यामाथि समस्या थपिहरेको छ’, पौडेलले भनेका छन् ।
सबै नीति नियमलाई लत्याउँदै सरकारले यस्तो निर्णय गरेर आफ्नो भ्रष्टाचारी अनुहार देखाएको उनको आरोप छ । प्राकृतिक स्रोतमाथिको दोहन राष्ट्रघाती कदम भएको बताउँदै सरकारको निर्णय देशको नियम कानुन साथै प्रकितिक नियमको पनि ठूलो उल्लंघन भएको उनको धारणा छ ।
सिङ्गै पहाड नै उजाड बनाएर बेच्ने कुरा कल्पना पनि गर्न नसकिने उनको भनाइ छ । प्रकृति आजको लागि मात्र नभएर भोलीको लागि पनि भएकाले विकास निर्माण गर्दै गर्दा प्रकृतिको क्षति गर्न नमिल्ने उनको भनाइ छ ।
देश आजलाई मात्र नभएर भोलिका सन्ततिको भविष्यको आधार भएकाले प्राकृतिक स्रोतलाई हडप्ने अधिकार कसैलाई नभएको पनि बताएका छन् । प्रकृतिको रक्षा गर्दै दीगो विकासको योजना हाम्रो मूल मन्त्र बन्नु भन्दै वातावरण स्थिरिकरणमा आँच आउने काम तत्काल रोक्नुपर्ने उनको भनाइ छ ।
