सिन्धुली — सिन्धुलीकी सय वर्षीया महिला कोरोना संक्रमणमुक्त भएर घर बुधबार घर फर्किएकी छन् । सिन्धुलीको कोभिड अस्पतालमा साताअघि कोभिड अस्पताल भर्ना भई उपचारमा रहेकी कमलामाई नगरपालिका ६ की सय वर्षीया इन्दिराकुमारी थापाले कोरोनामुक्त भएकी हुन् ।
कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछ उनलाई अस्पताल भर्ना गरिएको थियो । ज्वरो, खोकी र दम भएपछि आमाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छोरी निर्मलाले बताइन् ।
यस्तै, साताअघि ५ महिने शिशु अस्मिता श्रेष्ठले पनि कोरोनालाइ जितेकी थिइन् । अक्सिजन लेभल अत्यन्तै कम भएको अवस्थामा ती शिशुलाइ कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल इन्चार्ज अमृत कार्कीका अनुसार बालरोगका चिकित्सको प्रत्यक्ष निगरानीमा उपचार गरिएपछि स्वस्थ भएर ती शिशु घर फर्किएकी छन् ।
अर्की ८१ वर्षीय वृद्धा कमलामाई नगरपालिका ७ खेरेनीकी चन्द्रकुमारी खड्काले पनि कोभिड अस्पतालमा उपचार गराएर १० दिनअघि कोरोना संक्रमणबाट मुक्त भएकी थिइन् ।
स्वास्थ्य कार्यालयका अनुसार सिन्धुलीमा दुईसय ८८ संक्रमित निको भएर घर फर्किएका छन् । संस्थागत आइसोलेसनमा २२ जना रहेका छन् भने होम आइसोलेसनमा एकहजार दुईसय २२ जना संक्रमित रहेका छन् ।जिल्लामा १ हजार ५ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
