एजेन्सी – नेपाल रहेको समूह ‘बी’ बाट अष्ट्रेलियाले विश्वकप तथा एसियन कप छनोटमा शत प्रतिशत जितको यात्रालाई निरन्तरता दिदा चाइनिज ताइपेईमाथि सहज जित हात पारेको छ ।
कुवेत सिटीस्थित जावेर अल अहमद इन्टरनेसनल स्टेडियममा सोमबार राति भएको खेलमा अष्ट्रेलियाले ताइपेईमाथि ५–१ को फराकिलो जित दर्ता गरेको हो । अष्ट्रेलियाको जितमा मिटचेल डुकेले दुई तथा ह्यारी साउटर, जेमी म्याकलरेन र ट्रेन्ट सेन्सवरीले समान एक गोल थपे । ताइपेईका वेइ जिइ गाओले एक गोल फर्काए ।
खेलको १२औं मिनेटमा ह्यारी साउटरले गोल गर्दै अष्ट्रेलियालाई १–० को अग्रता दिलाए । २७औं मिनेटमा जेमी म्याकलरेनले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा ट्रेन्ट सेन्सवरीले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए ।
दोस्रो हाफमा अष्ट्रेलियाको दुवै गोल मिटचेल डुकेको नाममा रह्यो । ४६औं मिनेटमा डुकेले गोल गर्दै अष्ट्रेलियालाई ४–० ले अघि बढाए । ६२औं मिनेटमा वेई जिइ गाओले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ८४औं मिनेटमा मिटचेल डुकेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै अष्ट्रेलियालाई सहज जित दिलाए ।
यो जितसँगै समूह ‘बी’ मा शतप्रतिशत जित निकालेको अष्ट्रेलियाको ६ खेलबाट १८ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको जोर्डको १३ अंक छ । कुवेतको १० तथा ७ खेल खेलेको नेपालको ६ अंक छ । पराजित ताइपेइले अंकको खाता खोल्न सकेको छैन । नेपाल सोमबार राति नै जोर्डनसँग ३–० ले पराजित भएको थियो ।
