काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आजबाट सुरू ६० देखि ६४ वर्ष उमेर समूहका करिब १ लाख नागरिकलाई कोरोनाविरूद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको बताएका छन्।
‘काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आजबाट खोप अभियान सञ्चालन भएको छ,’ शाक्यले भने, ‘हामीले नेपाल सरकारसँग समन्वय गरेर महानगरपालिकाको व्यवस्थापनमा सुरू गरेको यो चरणको खोप एक लाखलाई दिने लक्ष्य राखेका छौं।’
यसअघि पहिलो मात्राको खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यस पटक यो खोप दिन लागिएको हो।
‘विगतका दिनमा अस्पतालमा केन्द्र बनाएर खोप अभियान सञ्चालन गर्दा भीडभाड हुने, त्यही भीडभाडबाट संक्रमण फैलिने डर हुनेलगायतका विभिन्न खाले गुनासो आएपछि त्यसलाई सम्बोधन गर्ने गरी भेरोसेल खोप लगाउँदा काठमाडौं महानगरपालिका आफैंले व्यवस्थापन गर्दै आएको छ,’ उनले भने, ‘अघिल्लो चरणको खोप पनि महानगरपालिककै व्यवस्थापनमा सञ्चालन गरेका थियौं। त्यो बेला पनि धेरै सहज भयो भन्ने पनि प्रतिक्रिया प्राप्त भएपछि यो पटक पनि हामीले ३२ वटै वडामा ३२ वटा केन्द्र बनाएर अभियान सञ्चालन गरेका छौं।’
उनले अस्पतालमा अनावश्यक भीड गर्दा त्यहिबाट संक्रमण फैलिने हो कि भन्ने जनगुनासोलाई ध्यानमा राखेर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने अभियान काठमाडौं महानगरपालिकाकै व्यवस्थापनमा सञ्चालन भैरहेको भन्दै त्यो उमेर समूहका आम महानगरवासी नागरिकलाई सेवा लिन आग्रह गरे।
‘हामीले ३२ वटै वडालाई निर्देशन नै जारी गरेर ६० देखि ६४ वर्ष उमेर समूहका नगरिकलाई एकै दिन खोप लगाउँदा भीड हुने भएकाले उमेर समूह अनुसार फरक-फरक दिन गरी पाँच
दिनसम्म लगाउने व्यवस्था गरेका छौं’ उनले भने, ‘यो अभियान काठमाडौं महानगरका नागरिकलाई मात्रै होइन ७७ जिल्लाबाटै राजधानीमा बसोबास गर्ने सो उमेर समूहका नागरिकलाई हो। तपाईंहरू आफूलाई पायक पर्ने स्थानमा नागरिकतासहित खोप लगाउन जानु होला।’
महानगरको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले आज ६४ वर्षका लागि, २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरे।
‘खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ,’ उनले भने, ‘यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ।’
वडा खोप केन्द्रको नाम
१. नन्दी रात्री स्कुल, नक्साल
२. वडा कार्यालय, लाजिम्पाट
३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र
४. वडा कार्यालय, वालुवाटार
५. वडा कार्यालय, हाँडीगाउँ
६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध
७. वडा कार्यालय, मित्रपार्क, चावहिल
८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी
९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली
१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर
११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर
१२. बुद्ध माई अस्पताल, टेकु
१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी
१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी
१५. भुइँखेल चौर, स्वयम्भू
१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार
१७. पब्लिक युथ क्याम्पस, धोवी चौर
१८. पुष्पलाल पार्क, विष्णुमती किनार
१९. वडा १९ कार्यालय परिसर,
२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी
२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल
२२. वडा कार्यालय, टेवहाल
२३. नव आदर्श विद्यालय, बसन्तपुर
२४. इतुमबहाल, तारणीबहाल
२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी
२६. वडा कार्यालय परिसर, लैनचौर
२७. महावौद्ध चोक
२८. कार्यालय परिसर, सिटी मार्केट
२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार
३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक
३१. इ. पि. यस. स्कूल, मीनभवन
३२. वडा कार्यालय परिसर, पाल्पाकोट
