नेपालमा विगत २४ घण्टामा ५,१५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मङ्गलवार मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार थप १०८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको उल्लेख छ।
कुल १७,६७६ वटा नमुनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्। थप ६,५७० सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा पीसीआर परीक्षणबाट कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ९५ हजार नाघेको छ। अहिलेसम्म पाँच लाखभन्दा बढी सङ्क्रमितहरू निको भइसकेका छन्।
कुल सङ्क्रमितमध्ये ८४.७ प्रतिशत निको भएका छन् भने १.६ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्। अहिलेसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ८,०९८ पुगेको छ। मन्त्रालयका अनुसार अहिले मृत्यु पुष्टि भएका मानिसको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएको शवको सङ्ख्या पनि समाविष्ट छ।
अहिले काठमाण्डूमा ११,४२३ जना, ललितपुरमा ३,४५४ र भक्तपुरमा ४,५०१ जनामा सक्रिय सङ्क्रमण छ। देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७६,५५० जना घरमै, ६,१८६ जना संस्थागत आइसोलेशनमा र बाँकी अस्पतालमा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। मन्त्रालयका अनुसार अहिले देशका विभिन्न स्थानमा १,३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा छन्। बीबीसी
