प्रहरीले ललितपुरबाट जेठ १६ लागुऔषधसहित तीन जनालाई पक्राउ गर्यो।
पक्राउ पर्नेमा जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ, कोर्तो गुरूङ र अम्रिता खड्का छन्। ललितपुर महानगरपालिका कुमारीपाटीबाट पक्राउ परेका उनीहरू अहिले ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलको हिरासतमा छन्।
पक्राउ पर्नेमध्येका कोर्तो गुरूङ गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गे (राजिव गुरूङ)का भाइ हुन्। पकनाजोल बस्ने कोर्तो गुरूङलाई अजय वा रेम्बो भनेर पनि चिनिन्छ।
कुनै बेला गुण्डाको छवि बनाएका मनाङे मन्त्री हुँदा उनका भाइ अहिले हिरासतमा छन्। कोर्तोको आपराधिक पृष्ठभूमि लामो छ। विभिन्न घटनामा उनी धेरै पटक पक्राउ परिसकेको ललितपुर परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।
‘यसपालि उनी लागुऔषधको मुद्दामा सेवनकर्ताको रूपमा पक्राउ परेका छन्,’ उनले भनिन्।
अहिले प्रहरीले उनीहरूले लागुऔषध कसरी पाए भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको एसपी महर्जनले बताए।
‘यिनीहरूले लागुऔषध कहाँबाट ल्याए भन्ने खोज्दैछौं। हामीले सबै पक्षबाट अनुसन्धान गरिरहेका छौ,’ उनले भने,’यिनीहरूको नेक्सस के रहेछ भनेर हेरिरहेका छौं। बिक्री वितरण पनि गर्ने हो वा आफैंमात्रै खाने हो भन्नेबारेमा पनि भेरिफाइ गर्दैछौं।’
कोर्तो १०-१२ वर्षको अन्तरालमा धेरै पटक पक्राउ परिसकेका छन्।
‘उनका ठाउँठाउँमा धेरै वटा मुद्दा छन्। अब सबै मुद्दाको अनुसन्धान भइसकेको छ वा छैन बुझ्नुपर्नेछ। लगभग एक दर्जन बढी मुद्दा छ,’ महर्जनले भने,’ १० देखि १२ वर्षको बीचमा १२/१४ चोटी त पक्राउ नै परिसकेका छन्।’
उनीविरूद्ध अभद्र व्यवहार, झगडा, लागुऔषध लगायतको मुद्दामा पक्राउ परेका थिए।
अहिले प्रहरीले उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट १५ दिनको म्याद थपेको छ। लागुऔषधको मुद्दामा आरोपित व्यक्तिलाई ९० दिन सम्म हिरासतमा राख्न सकिन्छ।
उनी ४१ ग्राम आइस नामक लागुऔषधसहित पक्राउ परेका हुन्।
यो लागुऔषध एक ग्रामकै १२ देखि १४ हजार वा सो भन्दा बढीमा किनबेच हुने गरेको ललितपुरका प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।
पक्राउ परेका कोर्तोले लागुऔषधको कारोबार नगरेको तर आफैं सेवन गर्ने गरेको प्रहरीसमक्ष बताएका छन्।
