पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहको झापाबाट काठमाडौँ जाने पास खारेज गरिएको छ। गृह मन्त्रालयको आदेशमा झापा जिल्ला प्रशासन कार्यालयले पूर्वराजारानीको सवारी पास रद्द गरेको हो।
काठमाडौँ जानका लागि झापा जिल्ला प्रशासनले बिहीबार जारी गरेको सवारी पास केही घण्टामै खारेज गरेको जनाइएको छ। स्रोतका अनुसार पूर्व राजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रशासनले तत्कालै सवारी पास जारी गरेको थियो, तर त्यसको केही घण्टामै प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो।
पूर्व राजा र पूर्वरानी शुक्रबार राजधानी जाने कार्यक्रम थियो। गृह मन्त्रालयले सोमबार एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गर्ने निर्णय गरेको थियो। यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ। बिहीबार नै गृह मन्त्रालयले एउटै जिल्लाभित्र पनि एक ठाउँबाट अर्को ठाउँ जान जारी गरिएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ।
