बागमती प्रदेशको नीति तथा कार्यक्रम पास गर्न प्रदेशमा एमाले एक ढिक्का भएको छ।
शनिबार बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिएका हुन्।
नेतृ अष्टलक्ष्मी शाक्य निकट प्रदेश सभा सदस्य रचना खड्काका अनुसार बागमतीको नीति तथा कार्यक्रम पास गर्न एमाले एक ढिक्का हुन लागेको हो।
शाक्यले सर्वोच्चको फैसलाले एमाले एकताका लागि एक खालको कोशेढुंगा बन्न सक्ने भन्दै एकताको माहौल बनोस् र त्यसको उदाहरणीय काम बागमतिबाटै सुरू होस् भनेर सन्देश दिन आफूहरू एक भएको बताइन्।
उनले पार्टी एकताको वातावरण बनाउनका लागि सरकारको नीति तथा कार्यक्रम पारित गराउन आफूहरू एक हुन लागेको स्पष्ट पारिन्।
यस्तै नेतृ शाक्यले आफूहरूलाई मुख्यमन्त्रीले सोधेको स्पष्टिकरण लिखित रूपमै फिर्ता लिइसकेकोले त्यसबाट पार्टी एक हुने विषयमा एक खुड्किलो अगाडि बढेको जानकारी बैठकमा गराएको नेतृ खड्काले सेतोपाटीलाई जानकारी गराइन्।
‘मुख्य मन्त्रीले पनि बजेट पार्दा समानुपातिक रूपमा सबै क्षेत्रमा पार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छन्। मन्त्रीको क्षेत्रमा मात्र पर्यो भने कुराहरूलाई मेटाउन कोशिस गर्छु भन्नुभएको छ, बजेटमा फेरि छलफल गरौंला अहिले चै एक भए जाऔं भनेर भनिएकाले हामी एक हुन लागेका हौं’, शाक्यको भनाई उदृत गर्दै खड्काले भनिन्।
बैठकले प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्ति भत्सर्ना योग्य रहेको भन्दै रेकर्डबाट हटाएर लिखित रूपमा माफी माग्नुपर्ने निश्कर्ष निकालेको खड्काले जानकारी दिइन्।
नेकपा एमाले बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बैठक बसेको थियो। बैठकमा एमालेका दुवै पक्षका सांसदहरू सहभागी भएका थिए। नीति तथा कार्यक्रम आज बागमती प्रदेशमा निर्णयार्थ पेस हुँदैछ।
