नेकपा एमालेको विवाद चरम उत्कर्षमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच पानी वारावारको अवस्था छ । सामाजिक सञ्जालमा दुई पक्षका नेताहरु एक अर्का विरुद्ध आगो ओकलीरहेका छन् । तर प्रदेशमा भने अलग्गै सन्देश छ । केन्द्रमा नेताहरु एक अर्का विरुद्ध आगो ओकलीरहँदा प्रदेशमा भने मिल्न थालेका छन् ।
नेकपा एमालेमा निकै कडा रुपमा प्रस्तुत हुने माधव नेपाल पक्षकी नेता अष्टलक्ष्मी शाक्य पनि एक हुन् । तर उनले आफ्नो प्रदेशमा भने एकताको सन्देश दिएकी छन् । एमालेका दुवै पक्ष मिलेर प्रदेश नम्बर एक, लुम्बिनी प्रदेश र बागमती प्रदेश सरकारमा यस्तो लक्षण देखिएको हो ।
सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम दुवै पक्षका नेता तथा सांसदले समर्थन जनाएका छन् । केन्द्रमा जे भएपनि आफ्नो प्रदेशमा मिलेर जाने भन्दै ओली नेपाल पक्षका सांसदहरु एक ठाउँ भएर नीति तथा कार्यक्रम पारीत गरेका छन् ।
आफूहरुले केन्द्रलाई पनि मिल्न सन्देश दिएको प्रदेशका नेताहरुले बताएका छन्। बागमती प्रदेशसभा सदस्य तथा माधवकुमार नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले दुवै पक्षबीच सहमतिका साथ नीति तथा कार्यक्रम अघि बढाउने प्रयास भएको बताइन्। उनले यो केन्द्रका लागि पनि आफुहरुको सन्देश भएको प्रतिकृया दिएकी छन् ।
प्रदेश १ को नीति तथा कार्यक्रम माथिको छलफलमा शनिबार बोल्दै प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले सरकारले ल्याएको योजना र कार्यक्रमको स्वागत गरे। उनी एमालेका माधव नेपाल समूहका सांसद भएपनि खुलेर स्वागत गरे ।
अर्का सांसद लीलाबल्लभ अधिकारीले केन्द्रको राजनीति जे भए पनि प्रदेशमा यो पटक सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सदनमा समर्थन गरेरै पास गरेको बताए। राजनीति त जहिले गरे पनि हुन्छ,’ उनले भने, ‘हामी अहिले पनि सत्तापक्षकै भएकाले समर्थन गरेर पास गरियो, अब बजेट आउँछ, त्यो पनि पास हुन्छ।’
लुम्बिनी प्रदेशमा पनि त्यस्तै दृष्य देखियो । सत्तारुढ नेकपा एमाले एकमत भएपछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्ने विपक्षीको दाबी असफल भएको छ। प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि अल्पमतको सरकार रहेको दाबी असफल देखिएको हो।
