मोरङ । ‘हामी विदेशी बोका होइनौँ, नेपाली बोका हौँ,’ ‘हाम्रो घर नवलपरासी हो, हामीलाई विदेशी भन्न पाइन्न,’ ‘हामी जहाज चढेर आएका होइनौँ, विदेशी भनेर हाम्रो बेईज्जत नहोस् ।’ सोमबार दिउँसो मोरङको बेलबारी नगरपालिकाको गेटमा बेलबारीका युवाहरु बोकाको घाँटीमा यिनै प्लेकार्ड टाँसेर विरोधमा उत्रिएका थिए ।
प्रसंग रहेछ- बोयर जातको बोका । अष्ट्रेलियाबाट आयात गरेको भनि नगरपालिकाले नवलपरासीको बोयर बोका ल्याएर किसानको आँखामा छारो हालेको रहेछ । नगरपालिकाले जेठ १५ गते अष्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्लड’ बोयर बोका भनि नवलपरासीबाट ल्याएको ९२ वटा बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण गरेको भेटिएको छ।
नगरपालिकाले अष्ट्रेलियाबाट ‘फूल ब्लड’ बोयर बाख्रा ल्याउन जेठ ३ गते संखुवासभाको ग्रो अर्गानिक कृषि फर्मलाई एक करोड २४ लाख रुपैयाँमा ठेक्का दिएको थियो । तर, सेटिङ रचिएको कुरा थाहा पाएपछि सोमबार दिउँसो नगरपालिकाको गेटमा बोकासहित प्रदर्शन उत्रिए ।
प्रदर्शनका क्रममा एक युवाले भने, ‘दुई साताअघि बेलबारी नगरपालिकाले किसानहरूलाई अष्ट्रेलियाबाट चार्टर गरी ल्याएर फुल ब्लड बोयर जातको बाख्रा वितरण गरेको भन्दै किसानहरूको आँखामा छारो हालेको हो । यसमा १ करोड बढी नगरपालिकाले भ्रष्टाचार गरेको देखिए पछि हामी सचेत युवाहरूले दबाबमूलक कार्यक्रम गरेका हौँ ।’
ती युवाले आफ्नो समूहले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा सोही विषयमा उजुरी समेत दिइसकेको बताएका छन् । उनका अुनसार नवलपरासीबाट बोका ल्याएर अस्ट्रेलियन बोयर भनेर भ्रष्टाचार गर्न पाइँदैन, गर्न दिन्नौँ ।
के भन्छ नगरपालिका ?
नगरपालिकाले भने आफ्नो बचाउ गरेको छ । जेठ १७ गते नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले विज्ञप्तिमार्फत् ग्रो अर्गानिक कृषि फर्मले ठेक्का बोलकबोलमा छनोट भएको तर, हालसम्म कुनै रकम भुक्तानी नगरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बेलबारी नगरपालिकाको ११ वटा वडाको समितिको निर्णय र प्राप्त सिफारिसको आधारमा व्यक्ति/फर्म समूहलाई वडा अध्यक्ष, जनप्रतिनिधिमार्फत भरपाई गरी बेलबारी नगरपालिकाद्वारा बोका/बाख्रा वितरण गरिएको ।’ साथै, विज्ञप्तिमा अष्ट्रेलियाका फुल बोयर बोका/बाख्रा उपलब्ध गर्ने शर्त राखिएको छ तर, नवलपरासीबाट बोका÷बाख्रा वितरण गरिए पछि युवाहरु प्रदर्शनमा उत्रिन बाध्य भएका हुन्
