लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण रोकिने भएको छ। निषेधाज्ञाको समयमा पनि प्रशारण भईरहेको टेलिसिरियलको प्रशारण अब रोक्नुपर्ने अवस्थामा पुगेको निर्माण टिमले जनाएको छ ।सामाजिक विषयवस्तुमा निर्माण हुँदै आएको टेलिसिरियलले प्रशारण शुरु गरेको छोटो समयमै लोकप्रियता कमाएको थियो ।
‘अहिलेसम्मका लागि निषेधाज्ञा अघि खिचेको स्टक भागले चलिरहेको थियो । हामीले गाउँमा गएर छायाँकन गर्दै आएका थियौं । अहिले छायाँकनको माहोल छैन्’ टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार मरिचमान श्रेष्ठले भने,‘छायाँकन असंभव भएका कारण आगामी साता प्रशारण रोक्ने निर्णयमा पुगेका छौं ।’निषेधाज्ञा खुकुलो भए पछि छायाँकन गरेर प्रशारणमा ल्याइने उनले बताए ।
‘जुठे’हिमालय टेलिभिजनबाट बुधबार बेलुकी ८ बजे प्रशारण हुँदै आएको थियो । मरिचमान र राजु पौडेलको संयुक्त लेखत एवं निर्देशन रहेको टेलिसिरियलमा यी दुईका साथ रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मीला शर्मा लगायतका कलाकारको अभिनय छ ।
