जिल्लाको बनेपामा आमा–छोरा मृत र श्रीमान अचेत अवस्थामा भेटिएका छन् । पाँचखाल नगरपालिका–६ स्थायी घर भई बनेपा–११ स्थित् सिनागालमा डेरा गरी बस्ने आमा–छोरा मृत र महिलाका श्रीमान् अचेत अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले ३० वर्षीय मनिषा कार्की घिमिरे र उनको ६ वर्षीय छोरा युवान घिमिरे मृत अवस्थामा भेटिएको जानकारी दिए । उनको अनुसार मृतक महिलाका श्रीमान् ३३ वर्षीय माधवप्रसाद घिमिरे भने अचेत अवस्थामा भेटिएका छन् ।
‘घट्नाको प्ररम्भिक अवस्था हेर्दा माधवप्रसाद घिमिरेले श्रीमती र बच्चालाई विष खुवाएपछि आफूले पनि सेवन गरेको देखिन्छ,’ उनले भने, ‘घट्ना बारेमा थप अनुसन्धान भइरहेको छ ।’ प्रहरी निरीक्षक कोइरालाका अनुसार उनीहरु बस्ने डेरामा औषधि तथा विषादी फेला परेको छ ।
त्यस्तै, मृतकहरुको शरीरमा कुनै चोट पटक देखिए पनि मेडिकल रिर्पोटमा तीनै जनाको शरिरमा विषादी देखिएका छन् । अचेत अवस्थामा भेटिएका माधवप्रसाद घिमिरेलाई अनुसन्धानका लागि बनेपास्थित् शिर मेमोरियल अस्पताल प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ ।
घिमिरे परिवारले बनेपाको नाला दोबाटोमा पसलसमेत चलाउँदै आइरहेका छन् । आफन्तका अनुसार डिप्रेसनको औषधि खाँदै आएका माधवप्रसाद र उनका श्रीमतीबीच पारिवारिक तथा अन्य विषयमा केही समयदेखि खटपट हुँदै आएको खुलेको छ ।
