बाढी,पहिरोलगायतका विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् । बाढी र पहिरोका कारण विशेष गरी पानी, खाना र किटजन्य रोगहरुको जोखिम बढ्छ
बाढी तथा पहिरोका कारण पानीका मुहानहरु कतै पुरिने, त कतै दूषित हुने सम्भावना रहन्छ । दूषित पानी पिउँदा विभिन्न रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले सुझाव दिनुभएको छ ।
उहाँका अनुसार बाढी र पहिरोपछि पानीजन्य प्रकोप देखिन सक्छ । त्यसको केही समयपछि किटजन्य प्रकोप पनि देखिन थाल्छ। पानीजन्य प्रकोप भन्नाले झाडापखाला, टाइफाइड,खानाजन्य भन्नाले हैजा र किटजन्य भन्नाले लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने रोगहरु डेङ्गी तथा कालाजार लगायतका रोग भन्ने बुझिन्छ ।
‘बाढी,पहिरो लगायतका जोखिमपछि मानिसहरु विस्थापित भएर एकै ठाउँमा बस्नुपर्ने बाध्यता हुन्छ । धेरै मानिस एकैठाउँमा बस्नुपर्दा सरसफाइको कमी हुन्छ । अहिले कोरोना भाइरसको सङ्क्रमण पनि गाउँ गाउँमा पुगेको छ ।
धेरै मानिस एकै ठाउँमा बस्दा कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिम पनि उत्तिक्कै हुन्छ’ डाक्टर पुनले भन्नुभयो । दीर्घकालीन रुपमा मानसिक समस्या हुने, चोटपटकका कारण लामो समयसम्म समस्या हुन सक्छबच्ने उपाय यस्ता विभिन्न रोगको प्रकोपबाट बच्नको लागि विभिन्न सावधानीका उपाय अपनाउनुपर्ने हुन्छ ।
जस्तै अस्थायी चर्पीको निर्माण गर्ने, शुद्ध खानेपानीको व्यवस्था गर्ने, अस्थायी बासस्थान वा घर वरपर सरसफाइमा ध्यान दिनुपर्छ । साथै हात धुने कुरालाई थप जोड दिने र हात धुन चाहिने पानी,
साबुन, जग र धारा उपलब्ध गराउने, कपडाहरु सफा राख्ने, वरपरका पानी जमेका खाल्डा पुर्ने, सम्भव भएसम्म झुल लगाउने वा पूरा शरीर ढाक्ने कपडा लगाउने उपाय अपनाउन सकेमा यस्ता समस्याबाट बच्न सकिन्छ ।
