सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा आइतबारदेखि निरन्तर वर्षा भईरहेको छ । सुदूरपश्चिम प्रदेश बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको छ ।मनसुन सुरु भएपछि लगातारको वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानकोे समस्या देखिएको छ । मनसुन सुरु भएसँगै विभिन्न जिल्लामा बाढी, पहिरो र डुबान सुरु भइसकेको छ ।
सुदूर पहाडका डोटी, बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, बझाङ र दार्चुला जिल्लाका धेरै वस्तीहरु पहिरोको उच्च जोखिममा रहेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सुदूरपश्चिममा आइतबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ । यसैगरी खोलाले बगाएर एक जना बेपत्ता भएका छन् भने पहिरोमा च्यापिएर दुईजना घाइते भएका छ्न।
डोटीमा बिहिवार पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भयो । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको माथिबाट आएको पहिरोले च्यापिएर मृत्यु भएको हो । मृत्यु हुनेमा ७ वर्षीय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं। ७ राँतुलीकी ऐश्वर्या बिष्टकी ११ वर्षीया छोरी जेनिषा विष्ट रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा विपद् पूर्व तयारीको काम शून्य भएको पाइएको छ । प्रदेशका ९ वटै जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, प्रदेश सरकार तथा स्थानीय तहहरूले विपद् पूर्व तयारीमा चासो दिएका छैनन् ।प्रदेशमा प्रकोप जोखिम क्षेत्रको पहिचान समेत गरिएको छैन ।
