एक पटकको बाढीले बजार नै बगर बनाएको मेलम्चीमा शुक्रवार राति फेरी भीषण बाढी भएको छ । करिब ९ बजेतिर एक्कासी नदीमा असार १ गतेको भन्दा पनि ठूलो बाढी आएपछि नदी तटीय क्षेत्रका स्थानीयको भागभाग भएको छ । स्थानियलाई सुरक्षित स्थानमा बस्नु भन्दै स्थानिय प्रशासनले पनि आग्रह गरेको छ ।
बाढी मेलम्ची बजारको इलाका प्रहरी कार्यालय छेउसम्म आइपुगेको स्थानियले बताएका छन् । बाढीले तालामाराङको तेर्से उच्च माध्यमिक विद्यालय कटान गरेको छ । त्यस्तै उक्त क्षेत्रको रातु खोला पुल पनि जोखिममा परेको छ ।
एक्कासी बाढी बढेपछि स्थानीयमा झन् त्रास बढेको छ । स्थानीय प्रशासनले नदी आसपासका नागरिकलाई सुरक्षित स्थानमा बस्न र सावधानी अपनाउन आग्रह गरेको छ ।
मेलम्ची खोला मिसिएर बग्ने इन्द्रावती नदीको बाढीले काभ्रपलान्चोकस्थित दोलालघाट पुल पनि जोखिममा परेको वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश नेपालले जानकारी दिएका छन् ।
त्यस्तै सिन्धुपाल्चोककै सुनकोशी र भोटेकोशी नदीमा पनि पानीको बहाव बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त नदी आसपासका बासिन्दालाई पनि सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
