चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएकोले चामेबजार थप जोखिममा परेको छ ।
उनले नेपाली सेनामार्फत बम विस्फोट गराई मस्र्याङ्दी खुलाउने भनिएता पनि पानी निरन्तर परिरहेकाले समस्या भएको बताए । माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मस्र्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ ।
थुनिएको भागबाट मस्र्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ ।
नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ । सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेता पनि लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको छ । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको छ।
