३ असार, मेलम्ची । सिन्धुपाल्चोकका ३१ वर्षीय सागर श्रेष्ठले मंगलबार जस्तो मेलम्ची नदीको रौद्ररुप कहिल्यै देखेका थिएनन् । जीवनकालमा उनले मेलम्चीमा २५ वटाभन्दा बढी बाढी देखे, भोगे । ती हरेक वर्षजसो आउँथे, जान्थे । सामान्य नदी कटान त हुन्थ्यो, बस्तीतिर सोझिंदैनथ्याे ।
यसपालि चाहिं मनसुनको शुरुआतमै मेलम्ची बजारलाई नै उठिवास लगाइदिने गरी नदी उर्लियो । ‘बाउ–बाजे आएर यहाँ बसेको पनि वर्षौं भइसक्यो, अहिलेसम्म यस्तो बाढी आएको सुनेको पनि थिइनँ’ ’ श्रेष्ठले भने।
मेलम्चीवासीका लागि यसपालि आएको बाढी अहिलेसम्मकै ठूलो मात्रै थिएन, अर्को फरक विशेषताको पनि थियो । ‘यसपालि बाढीमा पानीभन्दा बढी लेदो थियो, सिमेन्ट मुछेको पानी जस्तो बगेको थियो’ मेलम्ची बजारमा पसल चलाइरहेका ७२ वर्षीय भीमप्रसाद दंगाल भन्छन्, ‘पानी पनि छिनछिनमा बढ्ने घट्ने भइरहेको थियो ।’
‘फरक चरित्रको बाढी’
स्थानीयलाई जस्तै जिज्ञासा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेल भन्छन्, ‘यो बाढीको प्रकृति फरक भएकाले कारणबारे अध्ययन गर्न टोली बनाउने तयारी गरेका छौं ।’
जलाधारविज्ञ मधुकर उपाध्या पनि मेलम्चीमा आएको बाढीको चरित्र पहिलेभन्दा फरक रहेको बताउँछन् । ‘मुसलधारे पानी पनि परेको छैन, फेरि पत्याइ नसक्ने लेदो आएको छ’ उनले
भने, ‘त्यो पनि तीन दिनसम्म रोकिएको छैन ।’
यो घटनाले बाढीको विषयमा हुनुपर्ने अध्ययनलाई अर्को तहमा लगेको उनी बताउँछन् । ‘मेलम्ची घटनाले पहिले बुझेकोभन्दा फरक कुराको संकेत गरेको छ, त्यसैले यस विषयमा विज्ञबाट अनुसन्धान हुनु जरुरी छ’, उनी भन्छन् ।
उपाध्याले भने जस्तै मेलम्चीका सञ्जय दाेङ पनि बाढी आउनुअघि खासै पानी नपरेको सुनाउँछन् । अझ मेलम्ची बजारभन्दा १० किलोमिटर माथि नाकोटेमा रहेको मौसम स्टेशनले मंगलबार साँझ ५ः४० देखि ६ः४० सम्म नदीको सतह चारबाट दुई मिटरमा झरेको देखाएको थियो ।
जल तथा मौसम विभाग, बाढी पूर्वानुमान शाखाका वरिष्ठ जलविद् विक्रम श्रेष्ठ ‘जुवा’ भन्छन्, ‘पानीको सतह कम भएकै कारण हाम्रो नजर पनि मेलम्ची क्षेत्रमा परेको थिएन ।’
बरु त्यतिवेला शाखाका प्राविधिकहरु बाह्रबिसेभन्दा अगाडि रहेको बलेखी खोलाको जलसतहले खतराको तह पार गरेको भन्दै एसएमएस पठाइरहेका थिए ।
शाखा प्रमुख समेत रहेका श्रेष्ठका अनुसार गत मंगलबार सिन्धुपाल्चोक क्षेत्रमा पानी पर्ने सम्भावना पनि कम थियो । विभागको तथ्यांक शाखाका सनी महर्जनका अनुसार, मंगलबार मेलम्ची बजारभन्दा माथि रहेको थाङ्पाल धापमा १०.८, शेर्माथाङमा १८.८ र दुवाचौरमा ६ मिलिमिटर वर्षा भएको थियो ।
जलाधार विज्ञ उपाध्या भन्छन्, ‘यो भनेको एकदमै थोरै पानी परेको हो । यद्यपि त्यहाँ केही दिनअघि पनि अलिअलि पानी परिरहेको थियो ।’
पानी घटेको एक घन्टापछि उर्लिएको मेलम्ची
जल तथा मौसम विभागलाई पनि मेलम्ची बाढीले नयाँ पाठ सिकाएको जानकारहरु बताउँछन् । शाखाका प्रमुख जलविद् श्रेष्ठ पनि भन्छन्, ‘वास्तवमा जल सतह एक्कासि घट्दा पनि त्यसको कारणबारे सोच्नुपर्ने रहेछ ।’
उनका अनुसार मंगलबार साँझ एक घन्टामा पानीको सतह जति चाँडै घट्यो, त्योभन्दा तीब्र गतिमा एकघन्टापछि बढ्यो । साँझ ७ बजेतिर जलसतह ५.९८ मिटरसम्म पुग्यो । त्यसको १० मिनेटमै मेलम्ची उर्लिएर आयो र बजार तहसनहस बनाइदियो ।
‘पानीको वहाब बढ्न थालेपछि १० मिनेटमै ह्वात्तै जल सतह बढेको अनुमान छ’ वरिष्ठ जलविद् श्रेष्ठ थप्छन्, ‘विभागले त ७ बजेपछि कुनै सूचना नै पाउन सकेन ।’ उनका अनुसार पानीको सतह यति चाँडो बढ्यो कि पानीको वहाव मापन गर्ने विभागको राडर नै बगाएर लगिदियो । त्यही कारण पूर्वसूचना पनि दिन नसकिएको उनी बताउँछन् ।
किन यस्तो भयो त ? श्रेष्ठका अनुसार जल सतह मापन गर्ने विभागको केन्द्रभन्दा केही किलोमिटरमाथि पहिरो खसेको पाइएको छ । ‘त्यसले पानीलाई थुनेका कारण मेलम्चीमा एक घन्टा पानी घटेको रहेछ’ उनले थपे, ‘थुनिएको पानी एक्कासी फुटेर तल जाँदा पानीको वहाव ह्वात्तै बढेको हो ।
