भूपाल उप्रेती
भोकै छु भन्न मिल्छ वा मिल्दैन
केही अघाएको छु भन्न मिल्छ वा मिल्दैन
पुरानै जुत्ता भए पनि पोलिस लगाएर
पुरानै लुगा भए पनि आइरन लगाएर
त्यही निजी विद्यालयको दिनचर्यामा व्यस्त
बाहिरी स्वरूपमा सुकिलो मुकिलो देखिने म शिक्षक हुँ वा श्रमिक
अनि राहतको त्यो लाइनमा म बस्न मिल्छ वा मिल्दैन
यस्तै छ बुझेर बुझ पचाएको वा पचाइएको यथार्थ
यो दिग्भ्रमिकताको यथार्थ ।
सारा विश्व महामारीमा छ र मेरो देश पनि
मेरो विद्यालयमलाई एक टकले हेरिरहेको छ, खाली भवन भएर
अनि मेरा विद्यार्थी छिट्टै खुल्ने आशामा मेरै बाटो हेरिरहेछन्
तर म बाहिर हेर्दा जति हँसिलो देखिन्छु
भित्रभित्रै त्यति नै मन कावहरूपी महामारीले घाउघाउ भएको छु
वर्षौंदेखि अचानो भएको छु
एक वर्षे वारेन्टीको सामानरुपी मेरो पेसाको सन्तापले जलिरहेको छु
यस्तै छ नागरिकता हराएसरी आफ्नै देशमाअनागरिक बनेको यथार्थ
यो दिग्भ्रमिकताभित्रको यथार्थ ।
तिमीलाई डाक्टर, इन्जिनियर, नेता र वकिल बनाउने
अनि तिमीलाई प्रजातन्त्र, लोकतन्त्र र माक्सवाद पढाउने
तिम्रा सिगाने नाकहरू पुछ्दै
तिम्रा अक्षर लेख्ने कलिला हात समाउँदै
तिमीमा ज्ञान र शिक्षा भरी आफू मैनबत्ती झैं जल्दै
तिमी आफैं भन यी कर्मशील हात बेवारिसे बनेर माग्न पसारिन सक्छन् वा सक्दैनन्
सधैं नैतिकवान् ती ठाडा शिरहरु झुक्न मिल्छ वा मिल्दैन
सत्यरुपी ती पाइलाले बाटो बिराउन सक्छन् वा सक्दैनन्
यस्तै छ यो तीतो यथार्थ
वर्षौदेखि नजरअन्दाज गरेको वा गरिएको यथार्थ
प्रजातन्त्रदेखि गणतन्त्रसम्म मनन नगरेको वा नगरिएको यथार्थ
यो दिग्भ्रमिकताभित्रको यथार्थ ।
यी यथार्थहरु अब छताछुल्ल भएर छिट्टै पोखिनेछन्
धैर्यरुपी मनहरुबाट धैर्यका बाँधहरु फुट्नेछन्
कलम समाउने हातहरुले बारुद समाउनेछन्
सत्यरुपी पाइलाहरुले बाटो बिराउनेछन्
फेरि एकपटक ती ह्वाइट बोर्ड र ब्ल्याकबोर्डमा
बृहत् सङ्घर्ष र आन्दोलनको पाठ पढाउने छन् केवल आफ्ना लागि ।
