जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जना राखेर कार्यकारिणी समितिमा हेरफेर गरेका छन् ।
तर अध्यक्ष यादव पक्षले त्यसलाई जालसाजी र फर्जी भन्दै आपत्ति जनाइसकेका छन् । गत पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले आफूलाई कार्यकारिणी समिति हेरफेरका लागि दिएको म्यान्डेटको आधारमा त्यस्तो गरेको अध्यक्ष ठाकुरको दावी रहेको छ । तर उपेन्द्र यादवले पुस ७ गते त्यस्तो कुनै निर्णय नै नभएको दावी गरेका छन् । गत पुस ७ गते भएको निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ र दुवैजना अध्यक्षको हस्ताक्षर रहेको विज्ञप्तिमा कहीँ कतै त्यो अधिकार दिएको कुरा उल्लेख नगरेको यादवको भनाइ छ ।
निर्णय भएको कुरा विज्ञप्तिमार्फत सार्वजनिक नगरिए पनि आन्तरिक सर्कुलरमा त्यो कुरा उल्लेख हुन्थ्यो । त्यो दिनको बैठकले गरेको निर्णय कार्यकारिणी समिति, प्रदेश, जिल्ला, स्थानीय तहसम्म सर्कुलरको रुपमा पठाइँदा पनि केही उल्लेख छैन । त्यो दिनको माइन्युटमा पनि यसबारे उल्लेख नरहेको बताउँदै यादवले निर्वाचन आयोगमा पेस गरिएको कागजात सबै फर्जी रहेको दावी गरे ।
