काठमाडौं । महाधिवेशनको तयारीका लागि भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका प्रदेशका नेताहरूसँग छलफल तीव्र पारेका छन्।
यसअघि विभिन्न प्रदेशका नेता तथा केन्द्रीय सदस्यसँग भेटघाट गरेका देउवाले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आफू निकट केन्द्रीय सदस्यसँग भेटघाट गर्दै छन्।
केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने क्रममा सभापति देउवाले तीनै प्रदेशका नेताहरुलाई सोमबार दिउँसो १ बजे बोलाएको एक नेताले बताए।
१४ औं महाधिवेशनमा सभापतिमा दोहोरिन खोजेका देउवाले आफूपक्षीय नेताहरूसँग छलफल तीब्र पारेका छन्।
सातै प्रदेशका केन्द्रीय नेताहरूलाई बोलाउने क्रममा उनले यसअघि अन्य प्रदेशका नेताहरुसँग भेटघाट गरिसकेका छन्। देउवाले शनिबारदेखि आफूपक्षीय केन्द्री सदस्यहरूसँग छलफल थालेका हुन्।
शनिबार प्रदेश १ र २ को नेताहरुसँग छलफल गरेका देउवाले सभापतिमा उठ्ने तयारीमा स्वरुप भन्दै आइतबार बिहान बागमती प्रदेशका र दिउँसो गण्डकी प्रदेशका नेताहरूसँग छलफल गरेका थिए।
आफू पक्षीय नेताहरूलाई देउवाले महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका छन्। साथै, आफ्नो प्रदेशबाट संस्थापन समूहका महाधिवेशन प्रतिनिधि अधिकतम् निर्वाचित गराउन देउवाले निर्देशन दिएका छन्।
