काठमाडौं । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची नदीको बाढीले प्रभावित पारेको जनताको जिउधनको रक्षा पहिलो प्राथामिकता भएको बताएका छन् । बाह्रखरीसँगको कुराकानीमा उनले केही समयलाई पुग्ने सामग्री र बस्ने वातावरण भइसकेपछि स्थायी घर बनाउनेतर्फ लाग्ने बताए ।
“मेरो प्राथामिकता भनेको जनताको जिउधन बचाउने हो । पहिलेको भूकम्प पीडितजस्तो ५–१० वर्ष अस्थायी टहरामा राख्ने दिशामा म छैन । केही समयलाई पुग्ने सामग्री र बस्ने वातावरण भइसकेपछि उहाँहरुलाई स्थायी घर कहाँ बनाइदिने टुंग्याइहाल्नुपर्छ । त्यसपछि मात्रै संरचनालाई पहिलेको जुन ठाउँमा थियो, त्यही ठाउँमा लैजानेतर्फ लाग्नुपर्छ,” उनले भने ।
उनले हेलम्बुलाई २/३ वर्षमा नै पूर्ववत अवस्थामा फर्काउने बताए । हेलम्बु २० वर्ष पछाडि फर्कियो भन्नु काम नगर्ने मेलो भएको उनको टिप्पणी छ । “२/३ वर्षमा यही ठाउँमा पुर्याउनुपर्छ । कहाँ २० वर्ष भन्नु ? त्यो भनेको काम नगर्ने कुरा हो,” उनले भने ।
मेलम्ची बाढीले पुर्याएको क्षतिको पुननिर्माण गर्न स्रोत साधन कम भए पनि आँट गर्ने उनको भनाइ छ ।
“गाउँपालिकामा स्रोत साधन कम छ । आँट गर्नुस् म पुर्याउछु भन्छन् रे भगवानले,” उनले भने । मेलम्चीबाट आउने बाटोको वैकल्पिक बाटोको व्यवस्था गरेको उनको भनाइ छ ।
अहिले दलको नेताभन्दा पनि जनप्रतिनिधिको भएर काम गर्नुपर्ने उनको भनाइ छ । “म अहिले कुनै पार्टीको होइन । मलाई जनताले भोट दिएर जिताएको । म स्थानीय सरकारको नेतृत्व गर्ने जनप्रतिनिधि हुँ । सबै पार्टीका मेरा मान्छे हुन्,” उनको भनाइ छ ।
राहतलाई व्यवस्थित गर्ने पक्षमा पनि आफू रहेको अध्यक्ष शेर्पाले बताए । “वास्तविक पीडितले राहत पाउनुपर्छ । मैले स्टोरमा भनेको छु कुन संस्थाले कतिवटा टेन्ट ल्यायो, त्यो कहाँ गयो रेकर्ड चाहिन्छ,” उनको बताए ।
भेमाथाङको चौरमा २५ प्रतिशत मात्रै पहिरो खसेको विज्ञहरुले बताएको र त्यसले अझै क्षति गर्न सक्ने उनको आंकलन छ ।
उनले केन्द्र सरकारलाई राजनीति नगरी सहयोग गर्न आग्रह गरे । पुलहरुको छिट्टै निर्माण गर्ने उनको भनाइ छ ।
“एक डेढ वर्षमा मोटरबाटो पहिले जहाँजहाँ थियो त्यहाँ पुर्याउने । झोलुङ्गे पुल निर्माण गर्ने । झोलुङ्गे पुल बनाउन अरु ठाउँमा तीन वर्ष लाग्छ । यहाँ तीन महिनामा बन्छ । ७ वटा झोलुङ्गे पुल बगाएको छ । बत्ती पुर्याएपछि २० वर्षपछि कसरी पर्छौं आत्तिनुपर्दैन । छिट्टै गर्छु । यो समयमा केन्द्रले राजनीति नगरी सहयोग गरिदिए हुन्छ,” उनले भने ।
