काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकसाताका लागि निषेधाज्ञा पुनः थप भएको छ । नयाँ थप भएको लकडाउनको समयमा के–के कुरा गर्न नपाउने भनेर प्रष्ट पारिएको हो । प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जारी गरेको पत्रका धेरै कुराहरु उल्लेख गरिएको छ ।
आदेशपत्रमा भनिएको छ, ‘कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय को कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०७८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लामा मिति २०७८ असार ८ गते बाट २०७८ असार १४ गते सम्म लागु हुनेगरी तपसिल बमोजिमको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’
काठमाडौं उपत्यकामा दोस्रो लहरको कोरोना महामारी आएपछि गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ । बीचमा प्रतिबन्धलाई खुकुलो पारिएको भए पनि निषेधाज्ञा भने निरन्तर जारी रहेको छ । असार १ गतेदेखि एक साताका लागि जारी भएको निषेधाज्ञाको समयसीमा भोति राति १२ बजे समाप्त हुँदैछ ।
निषेधाज्ञाको समयमा सञ्चालन गर्न पाइने कार्यहरु
सर्वसाधारणको आवतजावतका हकमा
घरबाट बाहिर निस्किँदा दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दुरी कायम राख्ने । अनिवार्य रुपले मास्कको प्रयोग गर्ने । पटक पटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने ।
शैक्षिक संस्था कृषि उद्योग तथा निर्माण कार्यको हकमा
शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबाट पठनपाठन कार्यहरु सञ्चालन गर्नसक्ने ।
वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थीहरु, डिभी परेका व्यक्ति तथा कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तर्वार्ताका कार्यहरु नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सक्ने । उद्योग तथा कलाकारखाना र सार्वजनिक तथा नीजि निर्माण कार्य सञ्चालन गर्दा कामदारहरु कार्यस्थलमा रहनेगरी स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने ।
औषधि तथा स्वास्थ्य सामग्री अत्यावश्यक खाद्यसामग्री तथा अन्य व्यापार व्यवसायको हकमा
औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्ने । खाद्यन्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसलहरु, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र), स्टेशनरी–पुस्तक पसलहरु बिहान ११ बजेसम्म सञ्चालन गर्न पाउने ।
डिपार्टमेन्टल स्टोल (ग्रोसरी बाहेक), सपिङ्ग मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ्ग सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्ने ।
सुन पसल, भाँडा, भान्सा जन्य विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, ईलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) आइतबार, मङ्गलबार बिहीबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्ने । निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ्ग) दैनिक बिहान ११ बजेदेखि अपराह्न ६ बजेसम्म सञ्चालन गर्न पाउने ।
ठूलो परिणामको ढुवानी राती मात्र गर्ने ।
पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा मास्कको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने । यदि तोकेबमोजिम स्वास्थ्यमा मापदण्ड पालन नगरेको कुरा अनुगमनका क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्ने ।
अत्यावश्यक वस्तुहरूको अनलाईन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्ने । सवारी साधन मर्मतका लागि वर्कशपहरु बेलुका ७ बजेसम्म सञ्चालन गर्ने ।
विवाह तथा ब्रतबन्धको हकमा
बढीमा १० जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घरमा बसेकै स्थानमा मात्र गर्ने । विवाहमा ब्रतबन्धको हकमा दुई वटा सवारी साधन बेहुला बेहुलीसमेतले प्रयोग गर्ने गरी ब्यानर आधारमा आवतजावत गर्ने ।
सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा
अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भार, स्वास्थ्यसम्बद्ध औषधि, अक्सिजन, सिलिन्डर दूरसञ्चार इन्टरनेट मर्मत, कार्गो, कुरियर तथा डाक सेवा र फोहरमैला व्यवस्थापन सम्बन्धी ढुवानीका साधनहरुमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी सञ्चालन गर्ने । स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, एम्बुलेन्स, बिरामी बोकेको सवारी साधन तथा स्वास्थ्य सामग्री ढुवानी गर्ने सवारी साधन स्वास्थ्य मापदण्ड पालना गरी परिचयपत्रका आधारमा सञ्चालन गर्ने ।
निजी सवारी साधन (कार, जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा बढीमा तीन जना र मोटरसाइकल र स्कुटीमा जोर–बिजोर प्रणाली लागू (जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर गरी) सञ्चालन गर्ने । सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल, बीउ, पशुचिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु निर्वाध रुपले सञ्चालन गर्ने ।
तरकारी फलफूल खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ्ग सामग्री, कुखुराको दाना, चल्ला र पशुपंक्षीजन्य पदार्थ, भेटनरी सम्बन्धि कार्य, इन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने मास्क–साबुन–सेनिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल बीउ लगायतका सामग्री ढुवानीका साधनमा ब्यानर वा विषय उल्लेख गरे राति ८ बजेदेखि बिहान ११ बजेसम्म न्युनतम जनशक्तिको प्रयोग गरी सञ्चालन गर्ने । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्ने ।
भन्सार विन्दुबाट एक्जिट नोट जारी भएका मालवाहक सवारी साधन तथा सम्बन्धित भन्सार प्रमुखले मालसामान छुटाउने भनी रुट खुलाई अनुमति स्वीकृत प्रदान गरेका त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारीलाई अनुमतिमा उल्लेख गरेको दिन र स्थानसम्म आवतजावत गर्न पाउने । विदेश जाने यात्रुहरुले अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्दा हवाई टिकट, पासपोर्ट, भिसा आदिका आधारमा जिल्ला प्रवेश गर्न दिईने ।
पत्रकार तथा सञ्चारकर्मीहरुलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवतजावत गर्ने । सूचना तथा प्रसारण बिभागको प्रेस पास नभएका सञ्चारकर्मी कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित सञ्चार गृहको परिचयपत्रका आधारमा आवतजावत गर्न सकिने ।
सरकारी कार्यालय बैंक तथा वित्तीय संस्थाको हकमाविकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्युनतम जनशक्ति मात्र प्रयोग गरी सेवा प्रवाह सूचारु गर्ने ।
बैंक, वित्तीय संस्था, धितोपत्र बीमा, रेमिट, सहकारी, गैरसरकारी स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्तिबाट भिडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्ने ।
यसअघि जारी गरिएका सम्पूर्ण सवारी पास खारेज गरिएको ,
उल्लिखित आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ । यसको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गरिनेछ ।
