टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई थरका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी बरमहलकी घरबेटीका पतिले आफूहरूको सोच विभेद गर्ने नभएको बताएका छन्।
ती घरबेटीलाई प्रहरीले जातीय भेदभाव विरूद्धको कानुनअनुसार तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंको अनुमति पाएको छ। अदालतले दिएको तीन दिन मंगलबार पूरा हुँदैछ।
उनका श्रीमानले भने कुनै पनि प्रकारको भेदभाव गर्ने आफूहरूको नियत नभएको बताए।
काभ्रेका उनीहरूको बबरमहलमा चार तले घर छ।
उनको घरको तल्लो फ्ल्याटका कोठा भाडाका लागि राखिन्थ्यो। तर पछिल्लो समय कोरोनाको कारण कसैलाई राखिएको थिएन।
यसअघि कसैलाई कोठामा राख्नै परेमा पनि डेरामा आउनेहरूसँग श्रीमान आफैं भेट्थे। कुरा गर्थे।
यसपालि भने उनकी श्रीमतीले कोठा हेर्न आउने अर्थात् रूपासँग कुरा गरेकी थिइन्।
उनका अनुसार मंगलबार दिउँसो रूपालगायत तीन जना कोठा हेर्न आएका थिए। उनीहरूबीच राम्ररी नै कुराकानी भएको थियो।
उनले पनि सुरूमा राम्ररी मिलेर बस्नेबारे कुरा भएको बताए।
‘तीन जना आएका थिए। कोठाको कुरा भयो। राम्रोसँग आफ्नो जस्तै गरी बस्नुपर्छ भन्ने खालको कुरा भयो,’ उनले सेतोपाटीसँग भने, ‘पैसाको कुरा पनि भयो। श्रीमतीले १२ हजार भनिन्। उनीहरूले बढी भयो, ११ हजार दिने भनेछन्। कोठा पनि मन परेको जस्तो कुरा गरेका रहेछन्।’
त्यसपछि रूपा आफैंले जातको कुरा निकालेको उनको दाबी छ। अनि बल्ल आफ्नी श्रीमती अक्कमकिएको र सल्लाह गरेरमात्रै बताउने भनेको उनका श्रीमानले बताए।
‘सल्लाह गर्नुपर्छ भनेर त्यत्ति मात्रै भनेको हो के। हामीले जातको कुरा पनि निकालेका थिएनौं। उहाँ आफैंले म यस्तो हो भनेपछि श्रीमती अडिएको हो। सल्लाह गर्नुपर्छ भनेको हो,’ श्रीमानले भने, ‘हामीले जातको विषयमा सोधेको पनि थिएन।’
उनले आफूहरूले जातीय भेद हुने सोच नराखेको दोहोर्याए। आफूहरूलाई नियोजित रूपमा नै फसाइएको उनको आरोप छ।
‘मलाई उहाँहरूले गरेको कामअनुसार हामीलाई फसाउन नै आएको हो भन्ने लाग्यो,’ उनले भने, ‘उहाँहरूले फोन रेकर्ड गरेर हामीलाई फसाउन खोजिएको हो।’
उनले यसअघि पनि आफ्नो घरमा दलित समुदायका व्यक्तिहरूलाई भाडामा दिएर राखेको बताए।
घरमा ‘बुढाबुढी’ भएको हुँदा सल्लाह गर्नुपर्छ मात्रै भन्ने कुरा गरेको बताए।
‘दलितसम्बन्धी कुनै कुरा नै छैन। हामीले पहिले पनि राखेरै बसेको हो। हाम्रो कुनै त्यो खालको सोचाइ नै छैन,’ उनले भने।
रूपाले भने जात थाहा पाएपछि उनीहरूले सल्लाह गर्छौं भनेर फर्काएको भन्दै जातीय विभेदविरूद्ध उजुरी दिएकी हुन्।
उनले प्रहरीलाई घरबेटीसँगको फोन रेकर्ड पनि बुझाएकी छन्।
कोठा दिने/नदिने के-कसो निर्णय भएको हो भन्नेबारे बुझ्न रूपाले घरबेटीलाई फेरि फोन गरी बुझेकी थिइन्।
जहाँ ती घरबेटीले हजुरआमाका कारण रूपालाई कोठा दिन नमिल्ने बताएकी छन्।
‘कोठाको लागि यसो भयो नानी। अब हजुरमा हुनुहुन्छ। त्यसैले नमिल्ने भयो नानी,’ घरबेटीले फोनमा भनेकी थिइन्, ‘नरिसाऊ ल। हजुरमा छ त्यही भएर, सबै उ… गर्छ के माले त्यही भएर।’
त्यसपछि रूपाले प्रतिप्रश्न गर्दै हजुरआमा हुँदा आफ्नो जातको मान्छे बस्न नमिल्ने भन्ने प्रश्न गरेकी थिइन्।
जवाफमा उनले भनेकी छन्,’अँ अँ… हामीलाई त केही छैन कि मालाई चाहिँ अलि मिल्दैन क्या यहाँ।’
मंगलबार साँझ नै रूपाले आफूले जातकै कारण कोठा नपाएपछि फेसबुकमा आफूमाथि विभेद भएको भन्दै भिडिओ हालेकी थिइन्।
गत बिहीबार रूपाले घरबेटीविरूद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जातीय तथा अन्य छुवाछुत र भेदभाव ऐनको उपदफा ३ बमोजिम जाहेरी दिएकी थिइन्।
त्यसअनुसार कसुर गरेको पाइए तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ।
मुलुकी अपराध संहिताले पनि जातपातको आधारमा छुवाछुत वा अन्य भेदभाव गर्न नहुने भनेको छ।
दफा १६६ (१) मा भनिएको छ- कसैले कसैलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रितिरिवाज, जात, जाति, समुदाय, पेशा, व्यवसाय, शारीरिक अवस्था वा सामाजिक सम्प्रदायको उत्पतिको आधारमा छुवाछुत वा अन्य कुनै किसिमको भेदभाव गर्न वा सार्वजनिक स्थलमा उपस्थित हुन वा कुनै सार्वजनिक प्रकृतिका धार्मिक स्थलमा प्रवेश गर्न रोक्न वा सार्वजनिक प्रयोगमा रहेको पानी, पधेरो प्रयोग गर्न बञ्चित गर्न वा अन्य कुनै निजी वा सार्वजनिक उपयोग वा सुविधाका कुराको प्रयोग गर्नबाट बञ्चित गर्न हुँदैन ।
उपदफा २ मा भने यस्तो कसुर गर्नेलाई वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ। यस्तो कसुर राष्ट्रसेवकले गरेमा थप तीन महिनासम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।
