पछिल्लो समय फेरि वाम गठबन्धनको चर्चा बढेको छ । स्थानीय तहको निर्वाचन सकिएलगत्तै वाम गठबन्धनको चर्चा सुरु भएको हो ।
कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा होमिएका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि वर्तमान गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेपछि संसदीय निर्वाचनमा नयाँ गठबन्धन हुने शंका गरिएको हो ।
देशभरका २४९ जना प्रतिनिधिहरूलाई काठमाडौंमा बुधबार प्रशिक्षण दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेले जस्तै दम्भ प्रमुख सत्ताधारी नेपाली कांग्रेसले पनि देखाउन थालेको बताएका थिए ।
‘कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौं, अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन भन्ने ख्याल गरे हुन्छ’, उनले भनेका थिए, ‘कांग्रेस फेरि एमाले जस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ । हामी त क्रान्तिकारी हौँ, अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौं ।’
कांग्रेसलाई माओवादी अध्यक्ष दाहालले दिएको कडा चेतावनीले नयाँ राजनैतिक सिराको प्रारम्भका रूपमा धेरैले बुझेका छन् । यता एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले पनि स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट इमानदारिता नदेखिएको बताउँदै आइरहेको छ ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न सुर्खेत पुगेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनको भर पर्दा कम सिट जितेको बताएका थिए । उनले एक्लै चुनावमा होमिएको भए धेरै सिट जित्ने दाबीसमेत गरे ।
एकातर्फ गठबन्धनका मुख्य घटकहरूबाटै गठबन्धनप्रति असन्तुष्टि व्यक्त हुनु र अर्कोतर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर आएको भन्ने विषयले पनि नेपाली राजनीतिको कोर्स फेरिने संकेत गर्छ । तर, यी कुरामा भने त्यति धेरै आधार भेटिँदैन ।
अहिले सम्भव छ त वामगठबन्धन ?
स्थानीय चुनावमा बलियो गढ मानिएको पोखरामा नै एमाले पराजित भयो । त्यसले एमाले पनि वामगठबन्धनको पक्षमा छ कि भनेर अनुमान गर्नेहरु धेरै छन् । तर, एमाले नेतृत्व पंक्तिले त्यसलाई स्वीकारेको छैन ।
एमाले नेताहरू कांग्रेससँग बार्गेनिङका लागि माओवादी र नेकपा एसले यस्तो अभिव्यक्ति दिइरहेको बताउँछन् । ‘एमालेले प्रचण्ड–माधवलाई प्रधानमन्त्री अफर गर्ने त परै जाओस्, सोच्न पनि सक्दैन । केपी ओलीको नेतृत्वमा सरकार बनाउने उहाँहरूको प्रस्ताव त हामीले अस्वीकार गरेका हौँ भने अहिले एमालेले उहाँहरूलाई प्रधानमन्त्री वा वाम गठबन्धनको प्रस्ताव गर्ने सम्भावना नै छैन’ एमाले उपाध्यक्ष विष्णु पौडेलले नेपाल प्रेसलाई भनेका छन्, ‘एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गर्ने चालबाजी मात्र हो । हामी प्रचण्डलाई वा माधवलाई त्यस्तो अफर गर्ने गल्ती गर्दैनौँ ।’
विभिन्न कार्यक्रमहरूमा गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरे पनि नेपाल र दाहाल दुवैले तत्काल नै नयाँ गठबन्धनको सम्भव नभएको बताउँदै आइरहेका छन् । ‘सत्ता गठबन्धन दलहरूबिच प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुन्छ’, माधव नेपालले सुर्खेतमा भनेका थिए , ‘चुनावी समीक्षाबाट आत्मालोचना भएकोले आगामी निर्वाचनमा पनि तालमेल हुने भएको हो ।’
प्रचण्डको अभिव्यक्ति पनि योभन्दा फरक छैन । बुधबार जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा दाहालले संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धनलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म लैजान आफू तयार रहेको बताएका थिए । अरूले जेसुकै भने पनि गठबन्धन बचाएरै दुवै तहको निर्वाचनमा जाने उनको भनाइ थियो ।
यस्तो छ दलहरूको बटमलाइन
बजारमा वामगठबन्धनको चर्चा चलिरहेको भए पनि अहिले गठबन्धन गर्ने भनिएका एमाले, माओवादी र एकीकृत समाजवादीले भने त्यो विषयलाई स्वीकार गर्न सक्दैनन् । उनीहरूले वामगठबन्धनको चर्चा चर्चामा मात्रै सीमित रहेको बताउँछन् ।
नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका प्रमुख सचेतक जीवनराम श्रेष्ठले तत्काल वामगठबन्धन सम्भव नभएको बताए । उनले एमाले नेतृत्वबाट आत्मालोचना नभएसम्म गठबन्धन सम्भव नभएको बताए ।
‘पहिले नेकपा एमाले ठिक ठाउँमा आउनुपर्यो, अनि नेतृत्वले आफूले गरेको गलत कामको आत्मालोचना गर्नुपर्यो । त्यसपछि बल्ल सुरुवात हुन सक्छ’ उनले भने, ‘अहिलेसम्म त्यस्तो छैन । त्यसैले वामतालमेल अहिले तत्काल सम्भव छैन ।’
माओवादी केन्द्रका नेता देव गुरुङले पनि वामगठबन्धनको अहिले नै सम्भव नभएको बताए । तर, राजनीतिमा असम्भव भन्ने कुरा नभएको पनि उनको विश्लेषण छ । ‘अहिले तत्काल त्यो विषयमा कुनै कुरा भएको छैन’ उनले भने ‘असम्भव भन्ने कुरा राजनीतिमा हुँदैन तर, अहिले नै सम्भव हुने सम्भावना कम छ ।’
मुख्य एजेण्डा छोडेर समसामयिक विषयमा अहिले छलफल गर्नुको औचित्य नरहेको उनले बताए । ‘लाइनको कुरा नगरी पद र प्रतिष्ठाको कुरा मात्रै लिएर एकता वा तालमेलको कुरा गर्नु उपयुक्त होइन’ उनले भने, ‘विगतका गल्तीहरुहरुको अत्मसमीक्षा गर्न तयारी हुने कि नहुने भन्ने कुरा आउनु पर्छ । पहिले लाइन प्रस्ट भएपछि सहकार्य वा मोर्चाबोन्दीको कुरा आउँछ ।’
एकीकृत समाजवादी र माओवादी केन्द्रको जस्तै नेकपा एमालेले पनि तत्काल वामएकताको अवस्था देखेको छैन । पछिल्लो समय प्रधानमन्त्री र वामएकताका विषय बार्गेनिङको माध्यम रहेको एमालेको ठहर छ ।
प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘सबै हावादारी कुरा हो । कांग्रेससँग बढीभन्दा बढी सिट लिन र कांग्रेसलाई आगामी निर्वाचनमा धम्क्याउन फालिएको कार्ड मात्र हो ।’
