समसामयिक बिषयमा कमेडी मिसाएर निर्माण भएको फिल्म हो ‘चुरीफुरी’ । ऋषिराज आचार्यको निर्देशन रहेको फिल्मको फष्टलुक गत चैत्रमा सार्वजनिक भएको थियो । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगामी असोज १ गते घोषणा गर्दै फष्टलुक सार्वजनिक गरेको थियो ।
फिल्मको प्रचार बिस्तारै सुरु गर्ने योजनाअनुसार निर्माण युनिटले फष्टलुक सार्वजनिक गरेको थियो । वैशाखबाट फिल्मको आक्रमक प्रचार योजना बनाएको निर्माण युनिट निषेधाज्ञाका कारण त्यसै सेलाउन पुगेको थियो । आजबाट सरकारले निषेधाज्ञामा केही खुकुलो गरेको छ । अब पूर्ण रुपमा खुल्छ वा फेरि बन्द हुन्छ यसै भन्न सकिने अवस्था छैन । निर्देशक आचार्य भने मिलेसम्म फिल्म १ असोजमै रिलिज गर्ने मनस्थितिमा छन् । सबैथोक सामान्य भयो र फिल्म रिजिल गर्ने माहोल बन्यो भने ‘चुरीफुरी’ १ असोजमै रिलिज हुने निर्देशक आचार्यले बताए ।
