महोत्तरीमा बोक्सीको आरोपमा कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्।
जलेश्वर नगरपालिका-६ धबौली गाउँमा बोक्सीको आरोप लगाएर कुटपिट गरेको घटनामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।
पक्राउ पर्नेमा ४५ वर्षीय भुलन राम चमार र २८ वर्षीया सोमन देवी भन्ने सोमारी देवी छन्। उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
बिहीबार साढे १० बजे बिहान धबौली गाउँकी ५३ वर्षीया कालोदेवी र ५४ वर्षीया दुलरिया देवीमाथि बोक्सी लागेको भन्ने आरोप सोमन देवीले लगाएकी थिइन्।
बोक्सीको आरोप लगाएर सोमनलगायतले उनीहरूको चुल्ठो समातेर, हात लात्ती र लाठी समेतले कुटपिट गरेको प्रहरी निरीक्षक राईले बताए।
कुटपिट गरी घाइते बनाएपछि पीडतहरूले ज्यान मार्ने कसुर गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको शिर्षकमा मुद्दा दर्ता गरेको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। यस घटनामा संलग्न अरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
