सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा सात दिनपछि हेलिकप्टरले उडान भरेको छ ।
मौसम प्रतिकूलताका कारण गएकाे आइतवारदेखि उडान ठप्प भएकोे थियाे । हिजाे झन्डै एक दर्जन हेलिकप्टरले उडान भरेका नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट ३ वटा र सुर्केबाट ७ वटा हेलिकप्टरले उडान भरेका छन् ।
लुक्लामा हेलिकप्टर उडानका लागि केही समय मौसम अनुकूल भए पनि पुन: बन्द भएकाले सुर्केबाट उडान भरेको उहाँको भनाइ छ । तर जहाजले भने उडान भर्न सकेको छैन्। निरन्तर रुपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरु रद्द भइरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
मे २९ तारिखमा परेकाे सगरमाथा दिवसमा खुम्बु आएका पर्यटकहरु समेत फर्किन नपाएको स्थानीयले बताएका छन् । केही पर्यटकहरु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाण्डौ गइरहेका छन् भने अन्य यात्रु मौसम अनुकूल हुने पर्खाइमा बसेका छन् ।
