हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । माओवादी केन्द्रले उक्त निर्वाचनमा राम्रो सफलता हाँसिल गरेको चर्चा छ । अध्यक्ष प्रचण्डले त स्थानीय तहको निर्वाचनमा माओवादी दोस्रो दल हुने आँकलन गरेका थिए । तर, गठबन्धनबीच राम्रो समन्वय नहुँदा तेस्रो हुनुपरेको उनको स्पष्टोक्ति छ। संघीय संसद्को निर्वाचनअघि नै माओवादीहरु एक भएर जान सकिए पहिलो दल बन्नसक्ने माओवादी केन्द्रका नेताहरुको दाबी रहँदै आएको छ । प्रचण्डले त सार्वजनिक कार्यक्रममा नै अब ०६४ को जस्तो माओवादीहरु एकजुट भएर जान सकिए पहिलो दल बन्न कुनै असम्भव नरहेको जिकिर गरेका छन् ।
पछिल्लो समय प्रचण्डले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यलगायतसँग एकताको लागि प्रयास थालेका छन् । माओवादीहरु विभिन्न रुपमा छरिँदा जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र भएको प्रचण्डको गुनासो छ । अब एकचोटी माओवादीहरु सबैले आ–आफ्नो अहंकार त्यागेर सहकार्य गर्नुपर्ने दाहालको प्रस्ताव छ । उनले संघीयता, गणतन्त्र र संविधान रक्षाका लागि सधैँ सचेत हुनुपर्ने बताउँदै आएका छन् ।
