बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।
मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका पाण्डेविरूद्ध प्रहरीले मानव बेचबिखन तथा मानव ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो। उक्त मुद्दाको अनुसन्धान सकेर काठमाडौंको सरकारी वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
‘केही दिनअघि अनुसन्धान सकेर कार्यालयमा बुझाइएको छ। अब थप प्रक्रिया अघि बढ्छ,’ उनले भने।
प्रहरीले उनलाई जेठ ७ गते काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो। उनीविरूद्ध दुइवटा जाहेरी परेको थियो।
उनीमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया (तत्कालीन समयमा) किशोरीलाई बलात्कार गरेको आरोप छ। युवतीले यही जेठ पहिलो साता आफूमाथि बलात्कार भएको घटनाबारे भिडिओमार्फत् सार्वजनिक गरेकी थिइन्।
यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए।
पाण्डेद्वारा सञ्चालित मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।
मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन्।
उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले ‘तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ’ भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई लेमोनेड खान दिए।
‘लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,’ उनले भनेकी छन्, ‘अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक्स गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।’
यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।
बिहान घर जाने बेलामा पाण्डेले ‘यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु’ भनेर धम्क्याएको पनि उनले बताएकी छन्। त्यति बेला आफू १६ वर्षको भएको पनि उनले बताएकी छन्।
पाण्डेले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्। उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा पाण्डेको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। पाण्डेले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।
आफ्ना साथीले पाण्डेलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन्।
उनको भिडिओ सार्वजनिक भएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो।
