डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका–१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल चोरी सिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो ।
जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरुविरुद्ध डिभिजन वन कार्यालय मुगुले अदालतमा मुद्दा दर्ता गर्यो । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन १२ जेठमा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । टासी र छिमेक साधारण तारेखमा छुटे । वन कार्यालयले चलाएको मुद्दामा चार जना मात्र प्रतिवादी थिए ।
घट्टमा अन्न पिस्न जाँदा वनमा घोरल चर्दै गरेको देखेपछि फर्केर घरमा आई सिकारी कुकुर लिएर गई घोरल मारेको अदालती बयानमा दावा छोर्देनले बताए । उनले घोरल मारेको र घर नजिक चौतारामा बसेको गाउँलेले देखेपछि घटना प्रहरीले चाल पाएको थियो । मारेको घोरल र सिकारी कुकुरसहित चारजनालाई तत्कालै पक्राउ गरेर प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको थियो ।
वन्यजन्तुलाई हानि नोक्सानी पुर्याउने भएकाले वन कर्मचारीहरू उक्त कुकुरलाई त्यसै छाड्ने पक्षमा छैनन् । कुकुर सिकारी हो, त्यसलाई छाड्यो भने घर फर्किन्छ । त्यसले फेरि जंगली जनावर मार्छ । यस्तोमा राष्ट्रिय निकुञ्ज ऐनअनुसार आदेश लिएर सिकारी कुकुरलाई मार्ने नियम रहेको डिभिजन वन कार्यालयले जनाएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको चितैगाउँमा पर्ने वन क्षेत्रमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज छ ।
