एमालेका सांसद एवं पूर्व रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो कार्यकालमा एसपीपी सम्झौता नभएको दावी गरेका छन् । बिहिबार प्रतिनिधि सभाका सभामुखको समय लिएर बोल्दै उनले कुनै सम्झौता भएको भए त्यसको पत्र, माइन्युट प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्न चुनौती दिए ।
उनले सत्तापक्षले स्टेट पार्टनरसिपको विषयलाई गलत ढंगले सम्प्रेषण गरेको भन्दै खेद व्यक्त गरे । तथ्य विपरित, पूर्वाग्रहपूर्ण, आफुले गरेका अपराधहरूलाई ढाक्न गठबन्धन सरकारले दुश्प्रचार गरेको उनको दावी छ ।
उनले एसपीपी प्रस्ताव अमेरिकीहरुबाट आएको बेलामा सन् २०१५ र २०१७ मा औपचारिक ढंगले सकरात्मक रुपमा नेपालबाट जवाफ पठाइएको बताए । उनले सन् २०१५ मा कसको नेतृत्वमा सरकार थियो भन्दै प्रश्न गरे । उनले भने–‘त्योबेला प्रधानमन्त्री को थियो ? रक्षामन्त्री को थियो ? सन् २०१७ मा को प्रधानमन्त्री र रक्षामन्त्री थियो ? त्यसबेला मुलुकलाई नेतृत्व गर्ने प्रधानमन्त्री को थियो ? गठबन्धनलाई नेतृत्व गर्ने नेताहरुले आज झुट बोलिरहनुभएको छ । उल्टो एमालेप्रति आक्षेप लगाउने काम गरिरहनुभएको छ ।’
