दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि सरोकारवालाहरूसित राय, सुझाव एवं प्रतिक्रिया संकलन गरेको छ ।
शुक्रबार दिउसो गोकुलेश्वर माध्यमिक विद्यालयमा जनप्रतिनिधि र स्थानीयका बिचमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि सरोकारवालाहरूको प्रतिक्रिया लिइएको तथा प्राप्त प्रतिक्रियाका आधारमा बजेट तयार गरिने शैल्यशिखर नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्रका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, राजनैतिक दलका प्रतिनिधि, कर्मचारी एवं शुभेच्छुकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूले शिक्षा तथा स्वास्थ्यको गुणस्तरमा वृद्धि ल्याउनुपर्ने, युवाहरूका लागि रोजगारीका विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने , कर्मचारी व्यवस्थापन, नगरपालिकाका सबै वडामा अत्यावश्यक पूर्वाधार निर्माण गर्नुपर्ने लगायतका १ दर्जन बढि सुझाव प्रस्तुत गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै मालिकार्जुन माध्यमिक विद्यालय रानिशिखरका प्रधानाध्यापक धनन्जय विष्टले आगामी दिनमा नगरभरिका सम्पुर्ण सामुदायिक विद्यालयहरूको गुणस्तर कायम गर्न विषयगत शिक्षकको पूर्ति गर्नुपर्ने, कम्प्युटर कक्षा सञ्चालनमा ल्याउनुपर्ने, नगरभरी संचालित विद्यालयका शिक्षक तथा विद्यार्थीको पोसाकमा एकरूपता ल्याउनुपर्ने, परिचयपत्र अनिवार्य गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।
यस्तै नेकपा एमालेका नेता लालबहादुर विक (अभिषेक) ले कार्यक्रममा बोल्दै अघिल्लो सरकारले गरेका अनियमितता, लापरबाही र भ्रष्टाचारले निम्तिएका समस्यालाई अन्त्य गर्दै नगरलाई सहि सिस्टममा ल्याउनु अहिलेको सरकारको चुनौती रहेको औंल्याए । उनले आफूहरू जुनसुकै पेशासित आबद्ध भएपनी सुरूमा सबैले शैल्यशिखरको जिम्मेवार नागरिकका रूपमा आफुलाई उभ्याउनुपर्ने बताएका छन् ।
संवैधानिक व्यवस्थाअनुसार शैल्यशिखर नगरपालिका सहित देशभरका ७ सय ५३ वटै स्थानीय तहले यहीँ असार १० गते आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारीमा छन् ।
