काठमाडौं : पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विदेश नीतिका विषयमा सत्ता पक्ष र प्रतिपक्ष नहुने बताएका छन्। मंगलबार परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँग भएको अन्तर्क्रिया कार्यक्रममा उनले विदेश नीतिका मामिलामा सत्ता पक्ष र प्रतिपक्ष एउटै ठाउँमा उभिनुपर्ने धारणा राखेका हुन्।
उनले परराष्ट्र नीति कस्तो हुनुपर्छ भन्ने विषय नेपालको संविधानले नै निदृष्ट गरेको बताए। ज्ञवालीले दुई छिमेकी राष्ट्र भारत र चीनबीच सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे। उनले आफ्नो राष्ट्रको हितका कुरा गर्नु उग्र राष्ट्रवाद नभएको बताए।
‘भारतसँग सीमानामा समस्या छ।’,उनले भने,‘लिपुलेक, लिम्पियाधुरा, कालापानीको समस्या छ। कैयौं ठाउँ सीमा नापी नै गर्न बाँकी छ, उहाँहरुसँग सार्थक कूटनीति संवाद गरेर आफ्नो भूभाग प्राप्त गर्नुपर्छ। आफ्नो राष्ट्रको हितका कुरा गर्नु भनेको कुनै देशको विरोध होइन।’
