विराटनगर : घरबाट अघिल्लो दिन बेपत्ता भएका एकजना पुरुषको शव मोरङको सुन्दरहरैँचामा खोलाले बगाउँदै गरेको अवस्थामा मंगलबार बिहान भेटिएको छ ।
गछिया खोलाले बगाउँदै गरेको अवस्थामा बिहान ७ बजेतिर सुन्दरहरैँचा नगरपालिका–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बगाउँदै ल्याएको अवस्थामा सुन्दरहरैँचा–३ आइतबारेस्थित गछिया खोलामा विकको शव भेटिएको थियो ।
मानिसलाई खोलाले बगाइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी गछिया र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले घटनास्थल पुगेर शव खोलाबाट बाहिर निकालेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ ।
शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । प्रहरीका अनुसार विक सोमबार साँझदेखि आफ्नै घरबाट बेपत्ता भएका थिए ।
आगलागीमा पशुचौपाया मरे
विराटनगर महानगरपालिका–११ ब्रह्मपुराका जयशंकर कामतको गोठमा मंगलबार बिहानका राति आगलागी हुँदा पशुचौपाया मरेका छन् ।
टिन र काठले बनाइएको गोठमा बिहान १ बजेतिर लागेको आगोले जलेर एउटा गाई, दुईवटा बाच्छी तथा १० वटा खसी र बाख्रा मरेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगोले नजिकै रहेको घरमा समेत क्षति गरेको बताइएको छ ।
घटनामा ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो दमकल, स्थानीय र प्रहरीको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
