काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण रोक्ने कि निरन्तरता दिने भन्ने विषयमा क्यानले छलफल गर्दै छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले बन्द प्रशिक्षण रोक्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएपछि टोलीको तयारी रोकिने संकेत देखिएको छ ।
“अ,चानक क्रिकोणात्मक सिरिजको खेल स्थगित भएको जानकारी आयो । यसलाई रोक्ने या कुन तरिकाले अगाडि लैजाने भन्ने कुरामा छलफल हुँदै छ । यो विषयमा क्यान या म्यानेजमेन्टले निर्णय गर्ने होइन, हामी प्रशिक्षकको तयारीअनुसार अघि बड्ने छौँ,” प्याकुरेलले बाह्रखरीसँग भने । उनले यस विषयमा आज नै क्यानले निर्णय गर्ने बताए ।
नेपालले स्पेनमा क्रिकेट सिरिज खेल्ने तय भएको थियो । नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको हो । आईसीसीले कोरोना महामारीको कारण सिरिज स्थगित गरिएको जनाएको छ ।
क्यानका म्यानेजर विनोद दासले बोर्डले छलफल गरेर निर्णय गर्ने बताए । “बन्द प्रशिक्षण रोक्ने विषयमा छलफल भइरहेको छ । क्यानको बोर्ड बैठकले यसको अनुमोदन गर्नेछ । खेलाडी र प्रशिक्षकको मनसाय हेर्दै प्रशिक्षण बन्द हुने या नहुने भन्ने निर्णय हुनेछ,” उनले भने ।
सिरिजका लागि नेपाली टोलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा गएको मंगलबारबाट प्रशिक्षण सुरु गरेको थियो । क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो ।
