नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ विचारसहितको क्रान्तिकारी पार्टी निर्माण हुने बताएका छन्।
बिहीबार केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रचण्डले आगामी एक-डेढ वर्षमा विशेष महाधिवेशन गरेर नयाँ विचारसहितको क्रान्तिकारी पार्टी निर्माण हुने बताए।
उनले नेपाली कांग्रेस र नेकपा एमालेजस्तो बुर्जुवा पार्टी निर्माण नगर्ने बताएका हुन्।
‘एक-डेढ वर्षमा विशेष महाधिवेशन गरेर नयाँ विचारसहितको क्रान्तिकारी पार्टी निर्माण हुन्छ। यो पार्टी कांग्रेस, एमालेजस्तो बुर्जुवा होइन,’ उनले भने, ‘यो भिन्न छ। श्रम र उत्पादनसँग जोड्ने पार्टी बनाउने हो।’
त्यस्तै, उनले पार्टीलाई क्रान्तिकारी बनाउन असाधारण त्याग र योगदान जरूरी भएको बताए। अरूभन्दा भिन्न सावित गर्न विचारलाई व्यवहारमा लागू गर्नुपर्ने पनि बताए।
‘यो पार्टीलाई क्रान्तिकारी बनाउन असाधारण त्याग र योगदान जरूरी छ। हामी अरूभन्दा फरक हो भनेर सावित गर्न जरूरी छ,’ उनले भने, ‘सिद्धान्तको कुरा गर्ने मात्र होइन हामी, हामी त विचारलाई व्यवहारमा लागू गर्छौं।’
स्थानीय तह निर्वाचनमा पनि अन्तर्घात भएको उनले बताए।
‘हामीकहाँ कहीँ न कहीँ अन्तर्घात भएर धेरै ठाउँमा पराजित भएका छौं,’ उनले भने, ‘यसको लेखाजोखा हुनुपर्छ। चुनावी दाउपेच पनि ख्याल गर्न पर्ने रैछ।’
