नेपालटारस्थित डेरामा मृ’त भेटिएकी लोक गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट आएको छ । असार ११ मा विहान उनी आफ्नै डेरामा मृ’त अवस्थामा फेला परेकी थिइन् । सो घटनामा प्रहरीले सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गायिकाका बुवा केशर बिकले ह’त्या आरोपमा किटानी जाहेरी दिएका छन् ।
त्रिवि शिक्षण अस्पतलामा श’व पोष्टमार्टम गरिएको थियो । चिकित्सकले गायिकाको मृ’त्युको कारणमा ‘झुन्डिएर मृत्यु’ भन्ने रिपोर्ट दिएका छन् । मृ’त्युको कारण ‘झुन्डिएर’ भन्ने रिपोर्ट आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
१२ दिनदेखि प्रहरी हिरासतमा रहेका श्रेष्ठको बयानको आधारमा प्रहरीले महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिको झाडीबाट सल बरामद गरेको छ । गायिकाको श’व भेटिनु अघिको रातमा श्रेष्ठ उनको कोठामा गएका थिए ।
गायिकाको मोवाइल अझै फेला परेको छैन । मोबाइलबारे आरोपीले पनि आफुलाई थाहा नभएको बताउने गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।
आरोपी श्रेष्ठले बिहान आफु ब्यूँझँदा गायिका झ्यालको भेन्टिलेशनमा पासो लगाएर झुण्डिएको देखेको बयान दिएका छन् । ‘बचाउन’ आफुले डण्डी फुकाउँदा उनको शरीर चिसो भएपछि छाडेर भागेको श्रेष्ठले प्रहरीलाई बताएका छन् ।
