शुक्रबार सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिमसहित प्रदेश नं १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको हो।
दिउँसो सुदूरपश्चिमका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पनि केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।
हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको र आज देशभर आंशिकदेखि सामान्य बदली रहने बुलेटिनमा उल्लेख छ। राति देशभर सामान्यदेखी पूर्ण बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र मधेश प्रदेशका एक–दुई स्थानहरु साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।
वर्षाका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
