काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ। एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए।
दिउँसो ३ बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ। परीक्षा गत वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो भने ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
एसईईमा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका हुन्। लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन्।
त्यस्तै प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ। एसईईमा यो पटकदेखि सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन फरक फरक रुपमा गरिएको छ।
बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

