काठमाडौं । बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यले समग्र जिल्लाको विकासका लागि पुस्तकालयको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
बनेपा वाचनालय पुस्तकालय उपभोक्ता समितिको दीप प्रज्वलन तथा धन्यवाद कार्यक्रममा बोल्दै मेयर शाक्यले २०६३ सालबाट सञ्चालनमा रहेको पुस्तकालयले दिएको सेवाको प्रशंसा गरे ।
उनले भने, ‘समग्र बनेपाको विकासका लागि पुस्तकालयको भूमिका महत्पूर्ण हुन्छ । बनेपा लाइब्रेरी २०६३ सालबाट अहिलेसम्म पनि सञ्चालनमा रहेको छ । यो खुसीको कुरा हो ।’
उपभोक्ता समिति अध्यक्ष बुद्ध रत्न मानन्धरले प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट पुस्तकालयलाई गरिएको सहयोगका लागि सबैलाई धन्यवाद दिए । योजना छनोटमा विशेषगरी बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईँको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा राखे ।
बनेपा वाचनालय पुस्तकालयलाई बनेपाको इ लाइब्रेरीका रूपमा विकास गर्ने लक्ष्य रहेको र सोही अनुसार काम अगाडि बढेको उनले बताए ।

नेकपा एस बनेपा नगर अध्यक्ष रघुवर प्रधानले युवाहरूको राम्रो काममा सहयोग गर्ने दायित्व हो भविष्यमा पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट पुस्तकालयका लागि बजेट विनियोजन गर्न उनको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।
बनेपा ८ अध्यक्ष शुभ लक्ष्मी मानन्धरले पुस्तकालयको प्रशंसा गर्दै भविष्यमा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने बताइन् । उपभोक्ता समिति सचिव इन्द्रमा मानन्धरले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

