हर्क सापाम्ङ पछि खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले पनि आफ्नो सय दिनको प्रगती विवरण सार्वजनिक गरेका छन् ।
स्थानीय तह निर्वाचनमा जित हासिल गरेका मध्ये चर्चाको शिखरमा रहेका नगन्य जनप्रतिनिधी मध्ये गम्बु शेर्पापनि एक हुन् ।
बर्षातको समयमा पनि वडाको मूल सडक काठमाण्डौदेखि खिजिदेम्बा र खिजिदेम्बादेखि ओखलढुङ्गा सदरमुकामसम्म आवतजावत सडक स्तरोन्नती गर्नुलाई पालिकाले मुख्य उपलब्धि मानेका छन् ।
बाटो मर्मतका लागि अध्यक्ष शेर्पा स्वयम् नै घन, कोदालो बोकेर सडकमा उत्रेका तस्वीरहरु सामाजिक सञ्जालमा यत्रतत्र भेटिन्छ । त्यस्तै, डोजर र ट्याक्टर लिएर बाटो निर्माणका लागि अध्यक्ष अग्रसर देखिन्छ । यसैवीच गाउँपालिकाले यसैको पेरिफेरिमा रहेर आफूले गरेका कामको विवरण सार्वजनिक गरेका हुन् । सडक, ढल निकास, खानेपानी, विद्युतीकरण र शिक्षा क्षेत्रमा गरेका कामहरुलाई सय दिनको प्रगती विवरणमा समेटिएको छ ।

सडकतर्फ सय दिनभित्र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका हुँदै खिजिदेम्बाको वडा नं. ८ को काचपु, भुसिङ्गा, खोपीखर्क, टाँगा, चुली काप्ती, वडा नं. ७ को ज्याङ्दिङ, थाम डाँडा, वडा नं. ४ को चर्नालु, वडा नं. ३ को पुठा त्यस्तै गरी वडा नं. ५ को जिरखर्क, डाँरखर्क, पात्लेखर्कहुँदै खिजिदेम्बाको खिजिफलाटे जोड्ने सडक, खिजिफलाटे बजारहुँदै पात्लेखर्क, दोब्ब्रे भञ्ज्याङ ६ नं. वडाको फेदी गुम्बा, हाते बन्से, हुँदै मोलुङ गाउँपालिका बाट ओखलढुङ्गा सदरमुकाम हुँदै प्रदेश नं. १ को राजधानी जोडिने पक्की सडकका लागि संघीय मन्त्रालयबाट र खिजिफलाटे बजारलाई लक्षित गरी ढल व्यवस्थापनको लागि क्रमागत योजनाका रुपमा संघीय मन्त्रालयबाट बजेट व्यवस्थापन गरेको सार्वजनिक प्रगती विवरणमा उल्लेख छ ।
त्यस्तै, झोलुुङ्गे पुलतर्फ रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा नं. ७ बाट खिजिदेम्बा गा. पा. को वडा नं. १, खिजिदेम्बाको ९ नं. वडामा रहेको मोलुङ खोला, ताउर, खोलाखर्क जोड्ने झोलुङ्गे पुलका लागि बजेट व्यवस्थापन गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
भौतिक पूर्वाधार अन्तर्गत नै खानेपानीतर्फ नेपालको सातवटा अग्लो डाँडा मध्यमा पर्ने थोलेदेम्बा डाँडाको पर्यटनलाई लक्षित गरी प्रदेश नं. १, खानेपानी मन्त्रालयबाट खानेपानी आयोजना र वडा नं. ६ मा रहेको बन्से, कात्तिकेखर्क खानेपानी समस्यालाई मध्यनजर गरी प्रदेश बजेट डिपिआरका साथै बजेट व्यवस्थापन भएको भनिएको छ ।
गाउँपालिकामा एम्बुलेन्स नहुँदा समस्या खेप्नु परेको अवस्थालाई ध्यानमा राख्दै प्रदेश सरकारबाट एम्बुलेन्स गाउँपालिकाले प्राप्त गरी सञ्चालन गरेको र त्यसैगरी, आँखाको प्राथामिक उपचारको लागि तिलगंगा आँखा प्रतिष्ठानसँग सम्झौता गरी नेत्र सहायक कर्मचारी नियूक्त गरेको उल्लेख छ । एम्बुलेन्स शुचारु भए लगतै २ जना सुत्केरीलाई निःशुल्क समेत उपलब्ध गराईएको छ । त्यस्तै, गाउँपालिकाको अस्पतालमै भिडियो एक्सरे सेवा सञ्चालनका लागि रेडियो ग्राफर नियूक्त प्रक्रिया अघि बढ्नुलाई पनि गाउँपालिकाले आफ्नो उपलब्धी मानेको छ । सबै वडा, सामुदायिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र गाउँटोलमै गएर कोभिड परीक्षण र सुरक्षा विधिबारे सचेतना कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।
त्यस्तै, शिक्षा क्षेत्रलाई ध्यानमा राखी १ वडा १ नमुना विद्यालयको अभियान थालनी र बजेट विनियोजन गरेको, वडा शिक्षा समिति पुनः गठन गर्दै म्याद सकिएका व्यवस्थापन समितिहरु पुनः गठन गरेको जनाइएको छ । गाउँपालिकाले धार्मिक स्थल गुम्बा पुनः निर्माणको लागि विभिन्न निकायबाट यस आर्थिक बर्षमा बजेट व्यवस्थापन गर्न सफल गरेको, निर्माणधिन २ तले प्रशासकीय भवनलाई २ तल थप्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयबाट बजेट स्वीकृत गरेको अध्यक्ष शेर्पाको भनाई छ ।

६ वटा वडा कार्यालयको भवन निर्माणका लागि बोलपत्र आह्वान गरी आगामी अशोजदेखि निर्माण शुरु गर्ने तयारीमा रहेको, खिजिदेम्बा गाउँपालिकाको वडा नं. ५ मा सामुदायिक भवन निर्माणको लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन भएको, विभिन्न वडामा श्रमदान र विभिन्न व्यक्तिको सहयोगमा काठे पुल निर्माण सम्पन्न गरेको जनाइएको छ । जडीबुटी प्रशोधन तथा अनुसन्धानको लागि वन तथा वातावरण मन्त्रालयसँग कार्यक्रम अशोजबाट काम शुरु हुने गरी सम्झौता सम्पन्न भएको र केन्द्रीय विद्युत प्रशारण लाइनको लागि बोलपत्र आह्वान गरी कार्य थालनी गरेको जनाइएको छ ।
निर्वाचनअघि देखि चर्चामा रहेका अध्यक्ष शेर्पाले पाँच बर्षभित्र गाउँपालिकालाई नमुना बनाउने घोषणा गरिसकेका छन् । स्थानीय तह निर्वाचन घोषणा हुनुअघि नै विकासको अवधारणपत्र लिएर जनजनमा पुगेका शेर्पाले आफूले घोषणा गरेका प्रतिबद्धतालाई पूरा गर्न कम्मर कसेर लागि परेका छन् ।


