पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले ५ दलीय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिर्वतनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको प्रलोभनमा परेर धोका नदिने बताएका छन् ।
संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले प्रधानमन्त्रीको पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्ति विरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको बताएका हुन् ।
एमाले नै भएर एमालेकै सरकार विरुद्ध लाग्नुलाई उनले पार्टी भित्रको विद्रोही आवाज र क्रान्तिकारी आवाजको संज्ञा दिए । आफूले विगतमा पार्टी भित्र समस्या देखिने वित्तिकै जिम्मेबारीबाट आफु मुक्त भएको स्मरण गर्दै प्रधानमन्त्री ओली भने सत्ता मोहमा लिप्त भएको टिप्पणी गरे ।उनले भने “हाम्रो लडाई केपी ओली व्यक्ति विरुद्धको लडाईं होइन । केपी ओली प्रवृत्ति विरुद्धको लडाईं हो । जब सत्ता, शक्ति र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । केपी ओलीजीमा त्यही सत्ताको, शक्तिको र पैसाको मात लागेको छ । तानाशाहहरू डेमोक्रेटिक सिस्टमबाट पनि जन्मिदा रहेछन् । हाम्रो देशमा पनि केपी ओलीको रुपमा नयाँ चरित्र हामीले पाएका छौ । त्यही पार्टीभित्र हामी पनि रहेका हौ । पार्टीभित्र समस्या हुने वित्तिकै राजीनामा दिएका थियौ प्रधानमन्त्रीबाट । नैतिकताको आधारमा पार्टीको प्रमुख पदबाट राजीनामा दिएका थियौ । तर केपी ओलीलाई सत्ता भइरहेपछि त्यो भन्दा बाहेक केही पनि छैन । त्यसकारण उहाँ भन्नुहुन्छ कि कुर्सी माग्ने हो भने कुर्सी नै भाँचिदिन्छु । न रहे बाँस न बजे बासुरी । ”प्रधानमन्त्री ओलीले विगतमा पनि आफु, पुष्पकमल र बामदेवलाई एकै प्रकारका प्रलोभन देखाउने गरेको प्रसंग उल्लेख गर्दै उनले अब भने कुनै पनि किसिमले विचलित नहुने स्पष्ट पारे ।
उनले भने, “प्रधानमन्त्रीको पद दिएपछि माधव कुमार नेपालको मन विचलित हुने हो कि खुट्टा काम्ने हो कि ? समय छैन अब । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र संविधान र परिर्वतनको पक्षमा उभिएको र त्यसैमा उभिनुपर्छ भन्ने मान्यता बोकेर अघि बढेको हो । ओलीले गलत नीति, गलत विचार, चिन्तन र प्रवृत्ति छोडेर बुद्ध भएर फर्कनुहुन्छ भने ठिक छ । हुन त मलाई त्यत्ति विश्वास त छैन । ”
उनले आफू कुर्सीका लागि नभई संविधान र लोकतन्त्रको रक्षाका लागि लडेकाले आफुले गठबन्धनलाई धोका नदिने स्पष्ट पारे ।
