दाङमा एक शिक्षकले बिद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ३ स्थित बिपी माध्यामिक विद्यालय पातेटाकुरामा कक्षा ९ मा अध्यनरत १५ वर्षीय सुशील बुढाथोकीमाथि शिक्षक उदयराज भण्डारीले निर्घात कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ।
घाइते विद्यार्थीको तुलसीपुरस्थित सिटी हस्पिटलमा शल्यक्रिया भएको छ। उनको हातको एउटा औंला भाँचिएको विद्यालयकी प्रधानाध्यापक तुलसी गिरीले बताइन्।
‘घाइते विद्यार्थीको औंलाको शल्यक्रिया भइसकेको छ,’ उनले भनिन्, ‘बाहिर हल्ला गरिएजस्तो हातै भाँचिएको भने होइन।’
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले विद्यार्थी पिट्ने शिक्षकलाई कार्यालयमा झिकाएर छलफल गर्न निर्देशन दिइसकेको बताए।
‘पीडितसँगको छलफलबाट के निस्कन्छ हामीले नियाल्छौं,’ उनले भने, ‘पीडितबाट जाहेरी आउन थालेको भन्ने छ।’
प्रधानाध्यापक गिरीका अनुसार घटना मंगलबार दिउँसोको हो। छैठौं घन्टीमा भण्डारीले कक्षा १० मा अर्थशास्त्र पढाइरहेका थिए।
प्रअ गिरीका अनुसार त्यही क्रममा कक्षा ९ का तीन विद्यार्थीले कक्षाकोठमै कुटाकुट गरे। जोडिएको कक्षा १० को कोठासम्म हल्ला पुग्यो। हल्ला सुनेर शिक्षक भण्डारी पढाउन छोडेर कक्षा ९ मा प्रवेश गरे। झगडामा संलग्न तीनै जना विद्यार्थीलाई कक्षा कोठादेखि बाहिर ल्याए।
अफिस नजिकै ल्याएर उनले पानीको पाइपले निर्घात कुटपिट गरे। यो सबै देखिरहेको अन्य शिक्षकले सम्झाउन खोजे पनि शिक्षक भण्डारीले कसैले भनेको मानेनन्।
विद्यार्थी बुढाथोकीमाथि उनको आक्रोश पोखियो। कुटाइले विद्यार्थीका दुबै हात सुन्निएका छन्। एउटा औंला भाँचिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
शान्तिनगर गाउँपालिका वडा नं. ३ का अध्यक्ष मिनबहादुर केसीले शिक्षकले आवेशमा आएर विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने गम्भीर गल्ती गरेको बताए।
‘म काठमाडौंमा भए पनि मलाई विद्यार्थीमाथि भएको कुटपिटबारे अभिभावकलगायत धेरैले सूचना दिएका छन्,’ उनले भने, ‘मैले पनि प्रधानाध्यापकज्यूलाई फोन गरी तथ्य बुझेको छु। शिक्षकले सम्झाइबुझाइ गर्ने हो, त्यसरी कुट्नु गल्ती नै हो।’
पीडित विद्यार्थीका अभिभावकले भने प्रहरीमा शिक्षकविरूद्ध जाहेरी नदिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिए।
‘जाहेरी आउने कुरा छ,’ उनले भने, ‘अहिलेसम्म आइसकेको छैन।’
कुटपिटमा संलग्न शिक्षक आफैंले पनि गल्ती स्वीकार गरी घाइते विद्यार्थीको उपचारमा संलग्न रहेको प्रहरीले बताएको छ।
