काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी संयन्त्र बलियो भएमात्रै देशविकास सम्भव रहेको बताएका छन् । १९ औं निजामती सेवा दिवसका अवसरमा बोल्दै देउवाले राजनीतिज्ञभन्दा बढी जिम्मेवार कर्मचारी भए मात्रै देशको विकास सम्भव भएको बताएका हुन् ।
देश अहिलेको अवस्थामा पुग्न नेताहरु भन्दा बढी कर्मचारी संयन्त्र जिम्मेवार रहेको पनि बताए । उनले भने, ‘देशको दुर्गती गर्ने राजनीति नेताहरु मात्रै होकी व्युरोक्रेसीको पनि त्यसमा हात छ यो विषयमा छलफल हुनुपर्छ,’ उनले भने ।
देशमा एउटा बाटो २५ वर्षसम्म पनि बन्न नसकेको उल्लेख गर्दै ब्युरोक्रेसीबाट यसको जिम्मेवारी लिन हुने की नहुने भन्दै प्रश्न गरे । उनले भने, एउटा बाटो बन्नका लागि २५ वर्ष भयो, बाटो नै बनेको छैन् । देशभरीको अवस्था यही छ । बाटो इञ्जिनियरले बनाउने हो हामी पैसा दिन तयार छौँ । अहिले ब्युरोक्रेसी छ त्यहीपनि काम भएको छैन् । यसको जिम्मेवार को हो त्यसको बारेमा छलफल गरौँ ।’
देशमा आम्दानीको स्रोत नभएर कर्मचारीहरुलाई तलव भत्ता खुवाउन समेत विदेशबाट पैसा माग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले अब काम गरेर देखाउनुपर्ने बेला भएको बताए ।
देश परिवर्तन गर्न कर्मचारी संयन्त्र नै सबैभन्दा अगाडि हुने उनको भनाई छ । राजनीतिक दलका नेता भन्दा कर्मचारी संयन्त्रले काम गरे देश अगाडि बढ्ने देउवाको भनाई छ ।
