वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आइतबार प्रतिष्ठानका सबै पदाधिकारीको गाडीको चाबी खोसेका छन्।
प्रतिष्ठानभित्रका अनियमितता तथा पदाधिकारीहरुको मनपरीविरूद्ध संयुक्त संघर्ष समिति बनाएर आन्दोलन चलेको १३ दिन पूरा भएको छ। तर, यतिका लामो समयसम्मको आन्दोलनलाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले पूर्णतः वेवास्ता गरेको भन्दै आन्दोलनकारीले उनीहरूको गाडीको चाबी खोसेका हुन्।
यसक्रममा अस्पताल निर्देशक प्रा डा गौरीशंकर शाह, रजिष्ट्रार प्रा डा मोहनचन्द्र रेग्मी, शिक्षाध्यक्ष प्रा डा गुरु खनालको गाडी खोसिएको आन्दोलनकारी विद्यार्थी डा. अमृत जैसीले जानकारी दिए। उपकुलपति गिरीचाहिँ धरानमा आन्दोलन सुरू हुनेबित्तिकैदेखि काठमाडौं गएर बसेका छन्।
आइतबार आन्दोलनकारीले प्रतिष्ठान परिसरमा शक्ति प्रर्दशन गर्दै पदाधिकारीहरूको जवाफदेहिताहीन कार्यशैलीको आलोचना पनि गरेका थिए। आजको प्रदर्शनमा प्रतिष्ठानका विभागीय प्रमुखहरू पनि सहभागी भएका थिए। आन्दोलनकारीहरूले सोमबारदेखि रिले अनशन थाल्ने घोषणा पनि गरेका छन्।
प्रतिष्ठानभित्रको बेथितिबारे लेख्दै बोल्दै आएका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि त्यसको विरोधमा आन्दोलन सुरू भएको थियो। आन्दोलन अहिले प्रतिष्ठानको समग्र सुधारको मुद्दामा सोझिएको छ।
