काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा म्युकरमाइकोसिसका दुई संक्रमितको शल्यक्रिया गरेर आँखा निकालिएको छ । कोभिड संक्रमणपछि म्युकरमाइकोसिस संक्रमित भएका उनीहरूको अर्बाइटल सर्जरी गरी कृत्रिम आँखा राखिएको हो ।
नेपालगञ्ज घर भएका ५८ वर्षीय पुरुष र जनकपुरका ५० वर्षीय महिलाको एक-एकवटा आँखा निकाली कृत्रिम आँखा राखिएको हो ।
कोभिड संक्रमणपछि म्युकरमाइकोसिसको समस्या लिएर आएका ११ मध्ये ती दुई जनामा संक्रमण तेस्रो चरणमा पुगेको र अस्पताल भर्ना गर्दा ज्योति गुम्ने अवस्था भइसकेकाले आँखा निकाल्नुपरेको अस्पतालका म्युकर म्यानेज्मेन्ट कमिटी सदस्य डा. रविन्द्रभक्त प्रधानांगले बताए ।
त्रिवि शिक्षण अस्पतालमा हालसम्म १२ जना म्युकरमाइकोसिस संक्रमितको उपचार भइसकेको छ भने पछिल्लो समय भर्ना भएका २ जनामा संक्रमणबारे अनुसन्धान भइरहेको छ ।
